प्रदेश नं १ मा ७० सङ्क्रमित थपिए

Posted on: 23 Aug, 2020

भदौ ७, विराटनगर | पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ७० जना कोरोना सङ्क्रमित थपिएका छन् । आज  थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा नौ र प्रदेश बाहिरका १ जना कोरोनाबाट सङ्क्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा विराटनगरमा आज ४२ जनामा सङ्क्रमित पुष्टि भएको छ । जसमा  १८ महिला र २४ पुरुष छन् । 

मोरङको बुढीगंगा चार महिला एक पुरुष, केराबारीमा दुई र स्थानीय तह नखुलेका एक पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जिल्ला बाहिर झापाको कमल गाउँपालिकामा एक महिला दुई पुरुष, झापा गाउँपालिकामा एक पुरुष, विर्तामोडमा दुई महिला, कनकाईमा एक महिला, गौरादहमा दुई पुरुष र स्थानीय तह नखुलेका एक पुरुष, सुनसरीको इटहरीका एक महिला आठ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६५९ पुगेको छ । 

प्रदेश नं १ मा आज २५ जना निको भएर घर फर्किएका छन् । कोभिड–१९ आइसोलेशन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आइसोलेशन केन्द्र, चौदण्डीगढी उदयपुरबाट तीन जना डिस्चार्ज भएका हुन् । हालसम्ममा प्रदेशमा एक हजार २६७ जना कोरोनाबाट मुक्त भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा ८०५ पीसीआर परीक्षण भइ आजसम्म कूल ७७ हजार १५६ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!