एक जना कोरोना सङ्क्रमित आइसोलेसन केन्द्रबाटै फरार

Posted on: 24 Aug, 2020

भदौ ८, बाँके | जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । 

कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ती थुनुवा आइतबार फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

लागूऔषध कोरेक्स मुद्दाका ती थुनुवालाई भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि कृषि तालीम केन्द्रको आइसोलेसनमा लगिएको थियो । थुनुवा फरार भएको जानकारी पाउनासाथ उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पाँच सीसी लागूऔषध कोरेक्ससहित ती व्यक्ति पक्राउ परेका थिए । आइसोलेसनबाटै सङ्क्रमित थुनुवा फरार भएपछि खोजी कार्यका लागि सुरक्षा टोली परिचालन गरिसकेको प्रहरी उपरीक्षक रानाले बताउनुभयो । 

सङ्क्रमित थुनुवा फरार भएपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएर आवश्यक अनुसन्धान भइरहेको छ । उक्त आइसोलेसनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच प्रहरी खटिएका थिए । 

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!