स्वास्थ्य प्रमुखलाई नै सङ्क्रमण, जिल्ला अस्पताल सिल

Posted on: 26 Aug, 2020

भदौ १०, मनाङ । मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिनुभयो । स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला अस्पतालको आकस्मिक सेवाबाहेक अरु सबै बन्द गरिएको मेडिकल अधिकृत डाक्टर सन्तोष अधिकारीले जानकारी दिनुभयो ।

भरतपुर–१६ घर भई मनाङ ङिस्याङ गाउँपालिकाअन्तरगत पिसाङ आधारभूत विद्यालयमा कार्यरत शिक्षकमा पनि कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको गिरीले बताउनुभयो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मनाङका ४९ र ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको जनाएको छ ।  

“मनाङका स्वास्थ्य प्रमुख र शिक्षकमा कोरोना सङ्क्रमण देखिएको छ”, मेडिकल अधिकृत अधिकारीले भन्नुभयो । उहाँका अनुसार दुवै सङ्क्रमित गत साउन २० गते मनाङ प्रवेश गरेका हुन् । हालसम्म मनाङमा सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ भने एक जना निको भइसकेका छन् । यही भदौ ७ गते सङ्क्रमण पुष्टि भएका दुई शिक्षकको सम्पर्कमा आएका ११५ जनाको पिसिआर परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएकामध्ये आज दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । 

मनाङमा सङ्क्रमित भेटिएका सबै बाहिरी जिल्लाबाट आई यहाँ कार्यरत कर्मचारी हुन् । सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र स्वाब सङ्कलनको कार्यसमेत भइरहेको प्रजिअ गिरीले जानकारी दिनुभयो ।

त्यस्तै सदरमुकाम रहेको चामे गाउँपालिकाले पनि गाउँपालिका र वडा कार्यालयबाट दिइने  अत्यावश्यक बाहेका सेवाहरु यही भदौ १५ सम्मलाई स्थागित गरेको  गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!