परीक्षण बढेपछि भिटीएम अभाव

Posted on: 27 Aug, 2020

नानीमैया कटुवाल। भदौ ११,सप्तरी । सरकारले कोरोना भाइरसको परीक्षण दायरा बढाएपछि प्रदेश नं २ मा भिटीएम (स्वाब राख्ने भाँडो) अभाव हुन थालेको छ । सप्तरीसहित प्रदेश नं २ मा भिटीएम अभाव हुन थालेपछि कोरोना भाइरस परीक्षणका लागि गरिने स्वाब सङ्कलन कार्य प्रभावित हुन थालेको हो ।

प्रदेश नं २, सामाजिक विकास मन्त्रालयका अनुसार गत चैतदेखि असार मसान्तसम्ममा प्रदेशमा ४९ हजार स्वाब सङ्कलन भएकामा साउनदेखि स्वाब सङ्कलनको दायरा अत्यधिक बढ्दा बुधबारसम्ममा ९१ हजार ७०८ स्वाब सङ्कलन भएको छ । सबैभन्दा बढी रौतहट, पर्सा र सप्तरीमा स्वाब सङ्कलन भएको सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयले जानकारी दिएका छन् । असार मसान्तसम्म पाँच हजार ४४० जनाको स्वाब सङ्कलन भएको सप्तरीमा हाल १३ हजार १६५ को स्वाब सङ्कलन भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । हालसम्म रौतहटमा १९ हजार ५२५ र पर्सामा १७ हजार ७३७ जनाको स्वाब सङ्कलन भएको छ ।

नेपालमा बुधबार ८८५ सङ्क्रमित थप हुँदा कुल सङ्क्रमितको सङ्ख्या ३४ हजार ४१८ पुगेको छ । तीमध्ये सात हजार ४५ महिला छन् । सङ्क्रमित हुनेमा पनि प्रदेश नं २ सबैभन्दा अगाडि रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलनमा प्रदेश नं २ को सर्लाहीमा १२०, धनुषामा ४३, बारामा २४, रौतहटमा २०, महोत्तरीमा १८, सिरहामा तीन तथा सप्तरी र पर्सामा एक÷एक जनामा सङ्क्रमण पुष्टि गरेको छ । यसरी ५८ महिलासहित २३० सङ्क्रमित थपिँदा प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या एक हजार ४२१ महिलासहित नौ हजार ९४५ पुगेको छ । सात प्रदेश भएको देशमा प्रदेश नं २ मा मात्र झण्डै २९ प्रतिशत सङ्क्रमित पुष्टि भएको छ । सङ्क्रमितमध्ये चार हजार ४३९ जना निको भएर घर फर्किएका छन् ।

अहिले प्रदेश नं २ मा सङ्क्रमण दर सबैभन्दा धेरै भएकाले कन्ट्याक्ट ट्रेसिङमा परेका, शङ्कास्पद र सक्रिय सङ्क्रमित गरी दैनिक करिब एक हजार व्यक्तिको परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताउनुभयो । 

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले पनि दैनिक १५० देखि २०० को स्वाब सङ्कलन गर्दै आएको सप्तरीमा अब बाँकी ३५० मात्र भिटीएम बाँकी रहेको जनाउनुभयो । भिटीएम सकिन लागेपछि स्वाब सङ्कलन कार्य पनि कम गर्नुपरेको उहाँले जानकारी दिनुभयो । उहाँले उपलब्ध भिटीएम दुई/तीन दिनमा सकिने र थप भिटीएम नआए स्वाब सङ्कलन कार्य रोकिने बताउनुभयो । प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रदेखि सम्बन्धित निकायसँग माग गर्दै आइरहेको जानकारी दिँदै उहाँले सकिनुअगावै भिटीएम किट आउने आशा व्यक्त गर्नुभयो ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार दुई महिलासहित ११ जनाको मृत्यु पुष्टि गरेसँगै नेपालमा मृतकको सङ्ख्या १७५ पुगेको छ । मृत्यु हुनेमा पनि प्रदेश नं २ अगाडि रहेको छ । पछिल्लो पटक महोत्तरीमा तीन जनाको मृत्यु पुष्टि भएसँगै यस प्रदेशमा मृतकको सङ्ख्या ७३ पुगेको छ । यो एक्लै मुलुकमा कुल मृतक सङ्ख्याको ४१ प्रतिशतभन्दा बढी हो ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित हुने कुल सात जिल्लामध्ये पाँच जिल्ला प्रदेश नं २ कै छन् । महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाहीमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित छन् । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको पछिल्लो जानकारी अनुसार १४ हजार ७३९ सक्रिय सङ्क्रमितमध्ये प्रदेश नं २ मा संस्थागत आइसोलेसनमा एक हजार ८८१ र होम आइसोलेसनमा तीन हजार ६७५ गरी पाँच हजार ५५६ सक्रिय सङ्क्रमित छन् । 

सप्तरीको संस्थागत क्वारेन्टिनमा हाल २३ महिलासहित २२९ छन् भने होम क्वारेन्टिनमा २४६ जना छन् । प्रदेश नं २ मा सङ्क्रमित दर बढ्दो रहेको तथा क्वारेन्टिनमा रहेका शङ्कास्पद र आइसोलेसनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत बढिरहेकाले प्रत्येक जिल्लामा तत्काल पाँच हजार भिटीएम मौज्दात हुनुपर्ने निमित्त प्रमुख यादवको भनाइ छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!