कैलालीमा निषेधाज्ञा अवधि थप

Posted on: 29 Aug, 2020

भदौ १३, सुदूरपश्चिम (रासस) : कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा जारी गरिएको निषेधाज्ञा यही भदौ १९ गतेसम्म थप गरिएको छ ।

सो कार्यालयद्वारा आज प्रकाशित सूचनामा यही भदौ ४ गतेदेखि जारी निषेधाज्ञाको प्रभाव सकारात्मक देखिएकाले निषेधाज्ञाको अवधि थप गरिएको र आदेशको पूर्ण परिपालना गरी गराइ कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण गर्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरिएको छ ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोभिड–१९ का कूल सङ्क्रमित पाँच हजार ५९१ जना पुगेकामा सबैभन्दा बढी सङ्क्रमित कैलालीमा एक हजार ६७७ जना पुगेका छन् । यस्तै डोटीमा ९११, अछाममा ८७३, कञ्चनपुरमा ६७३, बाजुरामा ४५२, डडेलधुरामा ३१६, बैतडीमा ३४८, बझाङमा २९७ र दार्चुलामा ४४ सङ्क्रमित पुगेका छन् ।

प्रदेशमा अहिलेसम्म कैलालीका छ, बझाङ र बाजुराका दुई÷दुई तथा अछामका एक गरी ११ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । पछिल्ला दिनमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि प्रदेशका कैलाली, कञ्चनपुरलगायतका जिल्लामा रोगको रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

यसैबीच धनगढी उपमहानगरपालिका क्षेत्रमा आइतबारदेखि समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!