भदौ पुर्णिमाको अवसरमा शुक्रबारेमा मेला

Posted on: 27 Jul, 2016

प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम । तेह्रथुमको छथर शुक्रबारे बजारमा भाद्र पुर्णिमाको अवसरमा विभिन्न खेलकुद, सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमसहित भव्य मेला लाग्ने भएको छ । 

स्थानीय रत्नदेवी युवा सेवा समाजको आयोजनामा ऐतिहासिक भदौरे मेला सन्चालन हुने भएको अध्यक्ष अनिल आंखेवाले बताए । शुक्रबारेमा ऐतिहासिक रुपमै वर्षेनि भदौरे मेला लाग्ने गरेको छ । स्थानीय धामी, झाँक्रीहरुले भाद्र पुर्णिमाको अघिल्लै दिन अपवाससहित गुफा बसी पुर्णिमाका दिन स्थानीय रत्न देवी थानमा पुजा आजा र धामी नाच प्रदर्शन गर्ने गर्दछन् । 

परापुर्व कालदेखि नै हुँदै आएको त्यही प्रचलनलाई लक्षित गर्दै पछिल्लो समय युवाहरुको अगुवाईमा विभिन्न खेलकूद, मनोरन्जनात्मक र सांस्कृतिक कार्यक्रमहरु हुन थालेका हुन् । यसवर्ष पनि खुला भलिबल प्रतियोगिता र नृत्य प्रतियोगिता सन्चालन गर्ने निर्णय गरिएको अध्यक्ष आंखेवाले जानकारी दिए । 

मेलालाई सम्पन्न गराउन समाजले विभिन्न उपसमितिहरु समेत गठन गरिसकेको छ । मेलाको अवसरमा सन्चालन हुने भलिबल प्रतियोगितामा विजेता र उपविजेताले क्रमशः २५ र १५ हजार नगदसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । नृत्य प्रतियोगितामा विजेताले ११ हजार १ सय ११ तथा उपविजेताले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । 

मेलासँगै लिम्बुवानको ऐतिहासिक राजधानी ताक्लुङ गडी साँवा लिम्बुहरुको मांगेना यक, चाङिसिङ यक लगायतका स्थानहरुको अवलोकन तथा रत्न देवी थानको दर्शन गर्न तिर्थालुहरुको भीड लाग्ने गरेको छ । 

मेलामा पुर्वका तेह्रथुमसहित धनकुटा, संखुवासभा, सुनसरी र पाँचथरका विभिन्न ठाउँहरुबाट दर्शनार्थीहरु आउने गर्दछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!