कैलालीमा प्रहरी थुनामा रहेका एक युवकको मृत्यु

Posted on: 11 Sep, 2020

भदौ २६, सुदूरपश्चिम (रासस) । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा आज मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

चोरी मुद्धामा यही भदौ २२ गते पक्राउ परेका धनगढी उपमहानगरपालिकाका १९ वर्षीय रोशन बिकको आज प्रहरीको थुनुवा कक्षमा मृत्यु भएको थियो । युवकले हिरासतको शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपसम्शेर जवराले बताउनुभयो । मृतकका आफन्तले भने प्रहरीको कुटपिटबाट बिकको मृत्यु भएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले दिएको विवरणका आधारमा थुनुवा कक्षभित्रै बिकले आत्महत्या गरेकोसम्बन्धी समाचार दिनेश एफएमले प्रसारण गरिएको थियो ।

युवकले आत्महत्या गरेकोसम्बन्धी समाचार प्रसारण गरेको भन्दै एफएमका सह–सम्पादक जनक विष्टमाथि कार्यालयमा पुगेको एक आक्रोशित समूहले आक्रमण गरेको छ । 

समाचार प्रसारणको विषयलाई लिएर सञ्चारकर्मीमाथि भएको आक्रमण घटनाको नेपाल पत्रकार महासंघलगायत पत्रकारसम्बद्ध सङघ तथा सङ्गठनले विरोध जनाउँदै आक्रमणकारीमाथि कारवाही गर्न माग गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!