पहिराले आठ घरमा क्षति, चार सवारी साधन बगायो

Posted on: 15 Sep, 2020

भदौ ३०, मुग्लिन । पहिराले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेको पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्याएको हो ।

पहिरोले दुईवटा मोटरसाइकल, एक÷एक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको स्थानीयवासी चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षति पुर्याएको उहाँले जानकारी दिनुभयो । गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् ।

पाँचकिलो बजार नारायणगढ–मुग्लिन सडकखण्डमा पर्दछ । सो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ । पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!