प्रदेश ५ मा परिवार योजना सेवा कमजोर

Posted on: 17 Sep, 2020

निरा गौतम । असोज १, रुपन्देही । दैलेख घर भई बुटवल उपमहानगरपालिकाको चाँदवारीमा बस्दै आएकी एक महिलाले परिवार योजनाका विषयमा थाहा नपाउँदा छ महिनाको अवधिमै दुई पटक गर्भपतन गराउनुपरेको सुनाइन् । उनले भनिन् “दैनिक ज्याला मजदुरीमा जाने गरेका श्रीमान् कोरोना भाइरसको महामारीका कारण बेरोजगार भई घरमै बसेपछि गर्भ रह्यो र छ महिनामै दुई पटकसम्म गर्भपतन गराउनुपर्यो ।” 

हुर्किसकेका दुई सन्तान पालन पोषण गर्नै गाह्रो परेका बेला थप सन्तान जन्माउने इच्छा उनलाई थिएन । त्यसपछि त गर्भपतनबाहेक उनीसँग अर्काे कुनै विकल्प पनि रहेन । उनी नजिकैको मेडिकलमा पुगिन् र स्वास्थ्यकर्मीको सल्लाहमा औषधी सेवन गरी गर्भपतन गराएको उनले सुनाइन् । “परिवार नियोजनका साधनबारे मैले सुनेकै थिइन । श्रीमान्ले पनि यसबारे कहिल्यै केही बताउनुभएन, त्यसैले नचाहँदा नचाहँदै पनि गर्भ रह्यो र मानसिक तनावकाबीच गर्भपतन गराएँ”, उनको भनाई थियो । 

बुटवल उपमहानगरपालिका–२ की अर्की युवतीले भने बन्दाबन्दीका कारण परिवार नियोजनका अस्थायी साधन किन्न नपाउँदा गर्भपतन गराउन बाध्य भएको सुनाइन् । रोजगारीका लागि भारत गएका उनका श्रीमान बन्दाबन्दीको शुरुमै घर फर्किएका थिए । बन्दाबन्दीका कारण समयमै गर्भपतन गराउन समेत समस्या भएको उनको अनुभव छ । पहिले नै दुई सन्तानकी आमा बनेकी उनलाई तेस्रो गर्भ रहँदा आपूm मानसिक पीडामा परेको पनि उनले सुनाइन् । “यौन सम्पर्कका लागि परिवार नियोजनका साधन प्रयोग गरौँ भनेर मैले भने पनि श्रीमानले नमानेपछि आफँैले समस्या भोग्नु पर्यो”, उनले दुःखेसो पोखिन् ।  

आफ्नो नाम बताउन नचाहने यी दुई महिला यहाँका प्रतिनिधि पात्र मात्र हुन् । परिवार नियोजनका साधनबारे जानकारी नहुँदा तथा कोभिड १९ का कारण सेवा लिन नै समस्या झेल्नुपरेका महिला यहाँ धेरै छन् । कतिपय महिलाहरुले अनिच्छित गर्भधारण गर्नु परेकाले शारीरिक र मानसिक समस्या भोग्नुपरेको समस्या पनि सुनाएका छन् ।  

हरेक वर्षको १८ सेप्टेम्बरमा परिवार योजना दिवस मनाइन्छ । यस वर्ष ‘कोभिड १९ को अवस्था ः गुणस्तरीय परिवार योजना सेवाको निरन्तरता’ भन्ने नारा तय गरिएको छ । कोभिड १९ को महामारीका कारण सरकारी तथा गैर सरकारी निकायका सबै कार्यक्रम  कोरोना नियन्त्रण र रोकथाममै केन्द्रित हुँदा परिवार नियोजन सेवा र कार्यक्रम ओझेलमा परेका छन् । 

प्रदेश नं ५ मा परिवार योजना सेवाको अवस्था हेर्ने हो भने प्रति एक सयमा झण्डै ३० जना महिलाले परिवार नियोजनका साधन प्रयोग गर्न चाहेर पनि पाएका छैनन् । अथवा भनौँ विवाहित महिलामध्ये २७ दशमलब ९ प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गर्न चाहेर पनि पाएका छैनन् । 

प्रदेशमा ३७ दशमलब ६ प्रतिशत स्वास्थ्य संस्थाले परिवार नियोजनका आधुनिक साधन उपलब्ध गराएका छन् । बाँकी ६२ प्रतिशत स्वास्थ्य संस्थामा परिवार नियोजनका सबै साधन सेवा उपलब्ध छैनन् । प्रायः ठाउँमा कण्डम मात्रै उपलब्ध छ । आइयूसिडी, डिपोप्रोभेरा, नरप्लान्ट जस्ता साधन पाइँदैन । पछिल्लो समय पिल्स समेत स्वास्थ्य संस्थामा अभाव रहेको परिवार नियोजन सङ्घ रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका परिवार नियोजन सुपरभाइजर कौशल भण्डारीकाअनुसार प्रदेशमा यो वर्ष १५ देखि ४९ वर्षसम्मका महिलाको सङ्ख्या ११ लाख ३८ हजार ५४१ छ । जसमध्ये दुई लाख ६१ हजार ४४३ जनाले परिवार नियोजनका साधनको प्रयोग गर्छन । गत आव २०७५/७६ मा यो सङ्ख्या तीन लाख १२ हजार २७० थियो । 

यस्तै आर्थिक वर्ष ०७६/७७ मा १८ हजार ७६० जनाले सुरक्षित गर्भपतन गराएका छन् । गत आव २०७५/०७६ मा यो सङ्ख्या १७ हजार ३ सय १३ रहेको स्वास्थ्य निर्देशनालयका परिवार नियोजन सुपरभाइजर भण्डारीले जानकारी दिनुभयो । अहिले कोभिड–१९ को महामारीका कारण सरकारको एक नम्बर प्राथमिकतामा रहेर पनि परिवार योजनाको विषय ओझेलमा छ । प्रदेश नं ५ सरकारले विकास निर्माण र आर्थिक प्रगतिका क्षेत्रमा राम्रै काम गरिरहेको देखिएपनि स्वास्थ्य क्षेत्रको महत्वपूर्ण विषय प्रजनन स्वास्थ्य र परिवार योजनाका क्षेत्रमा भने सरकारको उपस्थिति उदेकलाग्दो छ भन्नुहन्छ अधिवक्ता तथा अधिकारकर्मी इन्दिरा आचार्य । 

उहाँका अनुसार प्रजनन अधिकारलाई नेपालको संविधानले प्रत्याभूत गरेको छ । दम्पतीबीच स्पष्ट छलफल भई निश्चित परिवार योजनामा पुगिन्छ । सन्तान उत्पादन गर्ने या नगर्ने भन्नेबारे निर्णय गर्ने स्वतन्त्रता महिला पुरुष दुबैलाई छ । त्यसका लागि परिवार नियोजनका साधनबारे जानकारी पाउनु दुवैको अधिकार पनि हो । यी अधिकार सबै दम्पती तथा व्यक्ति विशेषले आफ्नो सन्तानको सङ्ख्या, जन्मान्तर र समयबारे स्वतन्त्र र जिम्मेवार रुपले निर्णय गर्ने आधारभूत अधिकारहरू हुन् तर महिलाको आफ्नै शरीरमाथि अधिकार नहुँदा र निर्णय प्रक्रियामा समान सहभागिता नहुँदासम्म परिवार योजना सेवाको विषय ओझेलमै रहने अधिकारकर्मी आचार्यको भनाइ छ ।

परिवार नियोजन परिवारको योजना हो । पारिवारिक जीवनलाई स्वस्थ र व्यवस्थित बनाइराख्न के कस्ता नियोजक साधन तथा प्रविधिको प्रयोग गर्ने, कति उमेरमा बच्चा जन्माउने, दुइ बच्चाको जन्मान्तर कति राख्ने, बाल बच्चाको हेरचाह तथा शिक्षा दीक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा समय अगावै सही किसिमको योजना बनाई सोही अनुरूप पारिवारिक जीवन सञ्चालन गर्नु नै परिवार योजना हो तर यस विषयमा अहिले पनि धेरै नागरिक जानकार हुन सकेका छैनन् भन्नुहुन्छ, परिवार नियोजन सङ्घ रुपन्देहीका प्रबन्धक मोहन बस्याल । 

परिवार योजनाका विषयमा धेरै किशोर किशोरी र महिलाहरु अनविज्ञ छन् । विद्यालय तहबाटै यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा दिएर यसबारे सचेतना बढाउन सकिने उहाँको सुझाव छ । अहिले कोभिड– १९ को प्रभावका कारण सेवा लिनेहरु सेवा प्रदायक संस्थासम्म पुग्न नसक्दा परिवार नियोजनका साधन प्रयोग गर्नेको सङ्ख्यामा कमी आएको प्रबन्धक बस्यालले बताउनुभयो ।

स्वास्थ्यकर्मीका अनुसार परिवार नियोजनले व्यक्ति तथा दम्पतिको प्रजनन स्वास्थ्यको चाहना र आवश्यकता पुरा गर्दछ । परिवार नियोजन सेवा आमा, नवशिशु र बाल स्वास्थ्यको सम्वृद्धि तथा विकासका लागि आवश्यक हुन्छ । परिवार नियोजनले व्यक्ति तथा दम्पति लाई उनिहरूको इच्छा मुताविक उपयुक्त उमेरमा गर्भधारण गर्न, अनिच्छित गर्भ धारणबाट बच्न, एक सन्तानदेखि अर्को सन्तानबीच उपयुक्त जन्मान्तर कायम गर्न एवं चाहे जति मात्र सन्तान जन्माउन मद्दत गर्दछ । 

 दम्पतिहरुलाई साधन अपनाउने निर्णय गर्नुपूर्व परिवार नियोजनबाट हुने फाइदाहरू र परिवार नियोजनका उपलव्ध सवै साधनबारे आवश्यक जानकारी उपलब्ध हुनुपर्छ । यी जानकारीहरू सबै स्वास्थ्य संस्थाहरूमा निःशुल्क प्रदान गरिन्छ । परिवार नियोजनले आमा, नवजात शिशु र बाल स्वास्थ्यको संरक्षण एवं सुधारमा महत्वपूर्ण भुमिका निर्वाह गर्दछ । साथै यसले व्यक्ति, दम्पति, परिवार र समुदायको आर्थिक उन्नतिमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । 

परिवार योजना सेवालाई सबैको पहुँचमा पुर्याउन संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए) ले प्रदेश सरकारसँग सहकार्य गरी छ जिल्लामा घुम्ती सेवा प्रदायक स्वास्थ्यकर्मी (भिजिटिङ सर्भिस प्रोभाइडर) खटाएर स्वास्थ्य सेवा दिइरहेको छ । विकट क्षेत्रमा समेत परिवार योजना सेवाको सुनिश्चितताका लागि स्वास्थ्यकर्मी तथा सामाजिक अगुवाहरुलाई प्रशिक्षण सञ्चालन गरी कुन समयमा कस्तो परिवार नियोजनका साधन प्रयोग गर्ने भन्नेबारे जानकारी दिनुका साथै किशोरकिशोरी र सिमान्तकृत समुदायलाई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरिएको यूएनएफपिएका परिवार नियोजन परामर्शदाता रस्मीता पौडेलले जानकारी दिनुभयो । 

अहिले कोभिड १९ को महामारीका कारण छिमेकी मुलुक भारतबाट मात्रै झण्डै एक लाख नागरिक स्वदेश फर्किएका छन् । यी दिनहरूमा परिवार नियोजनका साधनहरुको माग बढी भएको देखिएको छ भन्नुहुन्छ, अर्घााखाँचीमा कार्यरत घुम्ती सेवा प्रदायक स्वास्थ्यकर्मी (भिजिटिङ  सर्भिस प्रोभाइडर) अर्चना बोहरा ।

परिवार नियोजनका साधनको माग बढी हुने तर कोरोना भाइरसका कारण स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुँदा अनावश्यक गर्भावस्थाको जोखिमलाई बढाएको छ तर यो अवस्थामा परिवार नियोजनको माग पूरा गर्नेतर्फ प्रदेश सरकार तथा स्वास्थ्य निर्देशनालयको कुनै योजना छैन । प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदकुमार गिरी भन्नुहुन्छ, “हामी अहिले कोभिड –१९ को व्यस्थापन र नियन्त्रणमा केन्द्रित छौँ । पहिलो प्राथमिकता व्यक्तिलाई बचाउनु हो । त्यसपछि स्वास्थ्यका अन्य कार्यक्रम पनि कार्यान्वयन गर्दै जान्छौँ ।” 

प्रदेश नं ५ सरकारले विकास निर्माण र आर्थिक प्रगतिका क्षेत्रमा राम्रै काम गरिरहेको देखिन्छ । यद्यपि, स्वास्थ्य क्षेत्रको महत्वपूर्ण विषय यौन तथा प्रजनन स्वास्थ्य र परिवार योजनाका क्षेत्रमा भने सरकारको क्रियाशीलता देखिँदैन । नयाँ बनेको प्रदेश सरकारले विस्तारै आफ्ना संरचना स्थापना गरेर स्वास्थ्य सेवाको दायरा पनि फराकिलो बनाउँदै परिवार योजनालाई समेत प्रभावकारी बनाउने अपेक्षा गर्न सकिन्छ । 

यसका साथै परिवार योजना सेवा माग पूरा गर्न तथा कोभिड– १९ को विषम परिस्थितिमा पनि परिवार योजना सेवा सबैको पहुँचमा पु¥याउन तीनै तहका सरकार, सेवा प्रदायक संस्था, गैरसरकारी संस्था तथा नागरिकहरु पनि अझै क्रियाशील हुनुपर्ने थप आवश्यकता देखिन्छ । रासस 




यस बिषयमा तपाइको प्रतिक्रिया...!