तल्लो मोदीमा कुरा मिल्यो, कर्मचारीले पाए नियुत्ति

Posted on: 18 Sep, 2020

पर्वत । तलब बढाउन माग गर्दै आन्दोलित निर्माणाधिन तल्लो मोदीखोला जलविद्युत आयोजना (२० मेघावाट) का कर्मचारीको माग पूरा भएको छ ।

लामो समयदेखि तलबभत्ता पनि नपाएको भन्दै तलब भत्ता भुक्तिानी दिनुपर्ने र तलब बृद्धि गर्नुपर्ने भन्दै आन्दोलित कर्मचारीलाई प्रति महिना १३ हजार रुपैयाँ तलब, ७ हजार ५ सय भत्ता दिने र आठ घण्टा काम गर्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको हो ।

उद्योगपति पशुपति मुरारका सहितको टोलीले आन्दोलित कर्मचारीको नियुक्ति र तलब भत्ता निर्धारण गरेपछि आन्दोलन रोकिएको हो । कर्मचारीले अब प्रति दिन आठ घण्टा काम गर्नुपर्ने, विदाको समयमा काम गरेको र ओभर टाइमको छुट्टै भत्ता दिने व्यवस्था कम्पनीले मिलाएको हो । कर्मचारीसंग एक वर्षको करार सम्झौता कम्पनीले गरेको छ ।

कुश्मा नगरपालिका–८ चुवाको परादीस्थित विद्युतगृहदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो सुरुङभित्र अहिले मर्मत कार्य भइरहेको छ ।

विसं २०६९ साउनमा निर्माण शुरु आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र सुरुङभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!