सुनको मूल्य घट्दै

Posted on: 24 Sep, 2020

असोज ८, काठमाडौँ । असोज लागेसँगै सुनको मूल्य ओरालो लाग्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले तोकेको मूल्यअनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय कायम भएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार आठ सय रुपियाँ कायम भएको छ । बुधबार बिहान नेपाली समयअनुसार १०ः३० बजे अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस १८८९ डलर पुगेका आधारमा उक्त मूल्य तय भएको हो । नेपालमा सुनको मूल्य भने भारतीय बजारमा भर पर्दै आएको छ ।

यसअघि गत भदौ ३१ गते छापावाल सुनका मूल्य प्रतितोला ९७ हजार पाँच सय रुपियाँ कायम भएकोे थियो भने असोज १ गते ९६ हजार छ सय रुपियाँ मूल्य तय भएको थियो । त्यसपछि मङ्गलबार ९५ हजार पाँच सय रुपियाँमा कारोबार भएको थियो ।

कोभिड–१९ को महामारी फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा नै पहेँलो धातुको मूल्य आकाशिँदै गएपछि नेपाली बजारमा पनि मूल्य बढ्दै प्रतितोला एक लाख तीन हजार रुपियाँभन्दा माथि पुगेको थियो ।

अहिले तुलनात्मक रूपमा डलर बलियो हुँदै गएको अन्तर्राष्ट्रिय बजारमा नै सुन बोलकबोलबाट बिक्री हुन थालेकाले मूल्य घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा नै आगामी अक्टोबर १५ सम्ममा सुन बजारमा करेक्सन आउने अनुमान गरिएको छ । अहिले दैनिक ४० देखि ५० डलरसम्म मूल्यमा कमी आउन थालेको छ ।

यस्तै क्रम रहेमा नेपालमा सुनको मूल्य प्रतितोला ९० हजार रुपियाँसम्म हुनसक्ने शाक्यको अनुमान रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!