खुला सिमानाका कारण लागुऔषधले थप्दै सुरक्षा चुनौती

Posted on: 28 Sep, 2020

असोज १२, सर्लाही । छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई मधेशका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ । सीमा क्षेत्रका बजारहरूमा सहजै पाउन सकिने साना हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको पाइएको छ ।

अवैध हतियार बोक्ने नेपाल प्रवेश गर्ने भारतीय तथा नेपालीहरूको समूह रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो । साना हतियारको प्रयोगबाट तराईका क्षेत्रमा आपराधिक गतिविधिहरू हुने गरेका प्रहरीले अनुमान गरेको छ । 

प्रहरी उपरीक्षक राठौरले खुला सीमाको फाइदा उठाउँदै अवैध लागुऔषध सहजै नेपाली बजारमा आउने गरेको भए पनि यसलाई रोक्ने प्रयास गरिरहेको बताउनुभयो । “हामीले सीमाक्षेत्रमा निकै कडाइ गर्दै आएका छौँ तर पनि खुला सिमाना भएकाले कतै न कतैबाट चोर बाटो हुँदै अवैध लागू औषध बोकेर नेपाल प्रवेश गर्ने आपराधिक समूह रहेकाले उच्च सतर्कताका साथ खटेर काम गरेका छौँ”, उहाँले भन्नुभयो ।

सीमा क्षेत्रको भारतीय बजारहरूमा अवैध लागू औषध खुलेआम बिक्री हुने हुँदा चुनौती बढेको उहाँको भनाइ छ । यसबाट दुवै देशका नागरिकलाई सुरक्षा चुनौती बढेको उहाँले बताउनुभयो । माओवादी द्वन्द्वको समयमा साना हतियारका साथै अवैध लागुऔषधको निकै बिगबिगी भएको थियो । त्यसबेला साना हतियारको प्रयोगबाट धेरैको ज्यान पनि गएको प्रहरीको भनाइ छ । हत्या, अपहरण, लुटपाटजस्ता अपराधमा साना हतियार प्रयोग हुने हुँदा यसले चुनौती थप्ने गरेको प्रहरीको भनाइ छ । 

सुरक्षा अधिकारीको सीमा बैठकमा साना हतियार तथा अवैध लागू औषधको विषयमा कुरा उठ्ने गरेको पाइएको छ । यसलाई रोक्नु पर्नेमा भारतीय अधिकारीहरू समेत सहमत हुँदै आएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले तराई मधेशका सबै जिल्लाको सिमाना खुला रहेका कारण अवैध लागुऔषधको ओसारपसार गम्भीर चुनौती भएको बताउनुभयो । खुला सीमा भएकाले समस्या हुने गरेका कारण दुवै देशका सुरक्षा अधिकारीले एकअर्कालाई सहयोग गरे समस्या समाधानमा सहज हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । 

लागुऔषध शरीरको कुनै पनि भागमा सहजै लुकाएर ल्याउने गरेका उहाँका भनाइ छ । साना सवारी साधनको केही भागमा लुकाएर अवैध लागू औषध ओसारपसार गर्दै आएको पाइएको र खुल्ला सिमानाका कारण जिल्लामा अवैध लागुऔषध नियन्त्रण कार्य निकै चुनौतीपूर्ण रहेको प्रजिअ पौडेलले बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!