वैदेशिक रोजगार ठगीका २७ उजुरी दर्ता, अधिकांश आफन्तबाटै ठगिएको खुलाशा

Posted on: 29 Jul, 2016

साउन १४, पोखरा । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) द्वारा वैदेशिक रोजगारपीडितका लागि निःशुल्क कानुनी सहायता प्रदान गर्न पोखरामा स्थापित शाखा कार्यालयमा दुई महिनामा ठगीका २७ वटा उजुरी दर्ता भएका छन् । 

वैदेशिक रोजगारका नाममा धेरै व्यक्ति गठीमा पर्ने गरेको भन्दै पोखरा र आसपासका क्षेत्रका पीडितलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने उद्देश्यले गत जेठ २ गतेबाट पोखरा–७ राष्ट्रबैंक चोकमा कार्यालय सञ्चालन गरिएको थियो । 

कार्यालयका कानुन अधिकृत अधिवक्ता दिपेन्द्र अर्यालका अनुसार वैदेशिक रोजगारपीडित मध्ये अधिकांश आफन्तबाटै ठगिएको पाइएको छ । हालसम्म कार्यालयमा वैदेशिक रोजगारका नाममा रु २० देखि १५ लाखसम्म ठगिएका उजुरी परेको उनले जानकारी दिए । 

पीडितले प्रस्तुत गर्ने प्रमाणका आधारमा उसको उजुरीलाई दर्ता गरी मानवअधिकारका लागि जनमञ्चको केन्द्रीय कार्यालय काठमाडौँमार्फत बैदेशिक रोजगार विभागमा पठाउने गरिएको उनले बताए । 

कार्यालय सञ्चालनमा आएसँगै कास्की, स्याङ्जा, तनहुँ, गोरखा, बागलुङलगायत जिल्लामा वैदेशिक रोजगार ठगी न्यूनीकरणका लागि सरोकारवालाबीच अभिमुखीकरण गरिएको उनले जानकारी दिए । 

कार्यालयले कास्कीका ढिकुरकोखरी, अर्मला, भदौरे तामागी, मौजा, कृष्तिनाच्ने चौर,  माछापुछ्रे, थुमाको डाँडा, घान्दु्रक, पार्चे र निर्मल पोखरीमा वैदेशिक रोजगार सम्बन्धमा कानुनी सचेतना कार्यक्रम पनि सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!