भरतपुर केरूङ्गा घोलको गुरुयोजना निर्माण

Posted on: 02 Oct, 2020

असोज १६, भरतपुर । भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र भएर बग्ने केरूङ्गा घोलको गुरुयोजना निर्माण गरिएको छ । झण्डै ३० किमी लामो घोलले गुरुयोजनाअनुसार काम भए नयाँ स्वरुप ग्रहण गर्नेछ । भरतपुर महानगरपालिकाको गणेशधामबाट शुरू भई जगतपुरस्थित राप्ती नदीमा पुगेर मिसिने केरुङ्गा घोलको गुरुयोजनाको काम सकेर डिपिआर निर्माण भइरहेको प्रदेशसभा सदस्य विजय सुवेदीले बताउनुभयो । गुरुयोजनाअनुसार निर्माण भए घोलले महानगरको सुन्दरता झनै बढ्ने उहाँले बताउनुभयो ।

यो आयोजना महानगरका लागि आवश्यक र दूरगामी महत्व राख्ने खालको हुने सांसद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “केरुङ्गा घोललाई व्यवस्थित गरियो भने शहरको सुन्दरता बढ्न जान्छ । बर्खामा घोलले डुबानमा पार्ने भएकाले पनि सुरक्षित ढङ्गले सौन्दर्यकरण हुनेछ ।” सांसद सुवेदीले महानगरको बीचबाट बगेको यस घोलको अवस्था काठमाडौँको टुकुचाजस्तो नहोस् भन्नका लागि नयाँ योजना बनाइएको बताउनुभयो । उहाँले बहुवर्षीय योजनाको रुपमा प्रदेश सरकार र महानगरपालिकाको लगानीमा घोललाई व्यवस्थित बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “शहरका विभिन्न ठाउँबाट बग्ने ढललाई निर्मलीकरण गर्दै घोलमा मिसाइने छ । जसबाट जल प्रदूषण समयमा नै नियन्त्रण आउनेछ । घोललाई व्यवस्थित गरेपछि डुङ्गा चलाउने, किनारमा साइकल चलाउने गरेर आन्तरिक र बाह्य पर्यटक घुमफिर गर्न सक्छन् ।”

भरतपुर महानगरपालिकाको शहरी विकासको योजनाकार आर्किटेक्ट इञ्जीनियर अस्मिता खनालले शहरीकरणसँगै नदी क्षेत्र अतिक्रमित हुँदै जाने भएकाले पनि उद्यान बनाएर संरक्षण गर्ने योजना बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “बर्खाको समयमा घोल घरघरमा पस्ने समस्या देखिएकाले पनि घोललाई उद्यान बनाएर व्यवस्थित गर्न आवश्यक छ । यसबाट एकातिर सार्वजनिक सम्पत्तिको संरक्षण हुनेछ भने अर्काेतिर उद्यानहरु बनाएर पर्यटकलाई पनि आकर्षण गर्न सकिन्छ ।” उहाँले शुरुमा १५ किलोमिटर जति कामचाहिँ छिट्टै शुरु गर्ने योजना बनेको जानकारी दिनुभयो ।

फोहर पानी बग्ने केरूङ्गाको घोलमा होचो भाग भएकाले भरतपुरका विभिन्न क्षेत्रका ढलहरु मिसाउने गरिएको छ । अब फोहर र सफा पानी एकै क्षेत्र तर दुई फरक अवस्थामा बग्ने बनाउने तयारी भएको छ । ढल मिसावट फोहर पानीका लागि छुट्टै नाला बनाउने र केरूङ्गामा भने सफा पानी बग्ने बनाउने गरी डिपिआर निर्माण भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । हिउँदमा पनि नारायणी लिफ्टको पानी हालेर केरूङ्गामा डुङ्गा चलाउने योजना रहेको उहाँले बताउनुभयो ।

केरूङ्गामा डुङ््गा शयर, दुवैतर्फ उद्यान निर्माण, दुवैतर्फ साइकल लेन, हिँड्ने बाटो, मिनीसप, विभिन्न स्थानमा आकर्षक पुल, हरियाली रहने छ । भरतपुर महानगरका वडा क्रमशः ११, १२, ९, ८, ७, ५, ६, १३, १४, २१, २२, २३, २४ भएर केरूङ्गा बग्ने गरेको छ । भरतपुर महानगर वडा नं ९ र ११ ले आफ्नो वडासम्म केरूङ्गा ड्रेनको सीमाङ्कनसमेत गरिसकेका छन् । यस आयोजनाले सङ्घीय निर्वाचन क्षेत्र नं २ र ३ साथै प्रदेश निर्वाचनको भने तीनवटा क्षेत्र समेट्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!