विस्थापित दलित समुदायको गुनासो

Posted on: 04 Oct, 2020

असोज १८, जाजरकोट | भेरी नगरपालिका–११ कटीगाउँका १२५ घरधुरीका दलित समुदायले आफूहरु ऋणमा डुबेर विस्थापित भएको गुनासो गरेका छन् । दैनिक जीवन निर्वाहका लागि साहुसँग ऋण लिएको र तीर्न नसकेपछि उठीवास भएको भन्दै उनीहरुले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसमक्ष गुनासो गरेका हुन् । स्थानीय साहुले ब्याजमाथि ब्याज लगाएर दलित समुदायलाई ऋणबाट उठ्न नसक्ने गरी गाउँ छोड्न बाध्य पारेको मन्त्री बस्नेतसमक्ष पेश गरिएको ज्ञापनपत्रमा उल्लेख छ । अहिले साहुको ऋण तिर्नका लागि दलित समुदाय गाउँ छाडेर भारतमा पुगेका छन् । “उनीहरुले भारतबाट पठाएको रकमबाट ब्याजमात्र तिर्न सक्ने अवस्था हुन्छ, मुख्य ऋण भने कहिले तिरिन्छ थाहा छैन”, अधिकारकर्मी शिला नेपालीले भन्नुभयो ।

प्रतिपरिवार रु पाँच लाखभन्दा बढी ऋण भएपछि उनीहरु ऋण तिर्न नसकेर विस्थापित भएका हुन् । स्थानीय साहुबाट जीवन बाँच्नका लागि ल्याइएको खाद्यान्न र लत्ताकपडाको रकम तिर्न नसक्दा ऋणमा डुब्नुपरेको पीडित जीतबहादुर विकले बताउनुभयो । ज्ञापनपत्र बुझाउँदै ऋणको सत्यतथ्य छानबिन गरी सो तिर्ने व्यवस्थापन गर्न, विस्थापित दलित समुदायलाई गाँस, बास र कपासको व्यवस्था गरी स्थापित गर्न र सहकारीमार्फत आर्यआर्जनमा जोडी रोजगारीको ग्यारेन्टी गर्नसमेत माग गरिएको छ ।

त्यस्तै निःशुल्क शिक्षा कार्यान्वन गरी शिक्षामा पहुँच वृदि गर्न माग गरिएको छ । जनचेताको विकास गर्न सचेतनामूलक तालिमको व्यवस्था गर्न आग्रह गरिएको छ । माध्यमिक शिक्षा उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षा पढ्नका लागि व्यवस्थापन गर्नसमेत माग गरिएको छ । गत असारमा भारतबाट आएका केही परिवार गाउँमा टिक्न नसकेर फेरि विस्थापित भएको स्थानीयवासी नरबहादुर कामीले बताउनुभयो ।

गाउँ छाड्न बाध्य छन् उनीहरु  

साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका–११ कट्टीगाउँमा दर्जन स्थानीय दलित समुदाय विस्थापित भएका छन् । एक सय २५ घरधुरी भएको कट्टीगाउँका दलित समुदायले दैनिक जनजीविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो ।

आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले तीन महिना खाना नपुग्ने कट्टीगाउँका स्थानीयवासी दलित समुदाय साहुबाट ऋण लिएर दैनिक गुजारा चलाउँदै आएका छन् । यसरी लिएको ऋण तिर्न नसक्दा केही दलित समुदायका स्थानीयवासी विस्थापित हुनुपरेको दलबहादुर विकले बताउनुभयो । उनीसँगै जनज्योति आधारभूत विद्यालयमा कक्षा ३ मा पढ्ने दलबहादुरका छोरा पारस विक भारतमा काम गरिरहेका छन् । साहुको ऋण तिर्ने अवस्था भएमा मात्र गाउँमा आउने उनीहरुको भनाइ छ । यस समुदायका अधिकांश बालबालिका कक्षा ३ मा पढेर विद्यालय छाड्ने गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय निरन्तरता दिन नसकेको स्थानीयवासी युवा अमृत विकले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दलित समुदायभित्र कक्षा १२ पास गरेका म मात्र हुँ, अरु कोही छैन ।” उहाँले दिएको जानकारीअनुसार आधा दर्जन स्थानीयवासीको जग्गा साहुले आफ्नो नाममा लिएपछि जीवन निर्वाहका लागि भारत गएका छन् । कट्टीगाउँका वीरमान विक, धर्मबहादुर विक, केशव विक, कर्णबहादुर विकलगायत अन्य स्थानीयवासी साहुको ऋण तिर्न नसकेर साहुलाई जग्गा पास गरी भारत विस्थापित भएका हुन् ।

उनीहरुको जग्गा स्थानीय यदुप्रसाद शर्मा, हरिप्रसाद शर्मालगायत अन्य पसल गरेका स्थानीयवासीले नाममा लिइसकेका छन् । उहाँहरुको पसलबाट लिएको खाद्यान्न, लत्ताकपडा आदिको ऋण तिर्न दलित समुदायका स्थानीयवासीले नसकेपछि जग्गा नै पास गरेर आधा दर्जन दलित समुदायका मानिस भारत पलायन भएका छन् । दलित बस्तीमा विद्युत् पुगे पनि दलित समुदायले प्रयोग गर्न पाएका छैनन् । स्थानीय अधिकारकर्मी पार्वती विकले भन्नुभयो, “पढ्ने वातावरण र आर्थिक नहुँदा दलित समुदायका मानिस अहिलेको जमानामा पनि शिक्षा पाउनबाट बञ्चित छन्, गरिबको चरम पीडामा छन्, यो समस्याबाट मुक्ति दिलाउन सबैले ध्यान दिनुपर्यो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!