तीन वर्षमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाको मृत्यु

Posted on: 07 Oct, 2020

टेकराज पोखरेल । असोज २१,नवलपुर । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रका बासिन्दा र वन्यजन्तुबीच द्वन्द्व घट्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कानुसार यस क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व घट्दै गएको हो । निकुञ्जबाट निस्कने बाघ, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले आक्रमण गर्दा पछिल्लो तीन वर्षमा ३६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तीन वर्षको अवधिमा जनावरको आक्रमणबाट आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी मानवीय क्षति भएको छ । सो आवमा वन्यजन्तुको आक्रणमा परी २२ जनाको मृत्यु हुनुका साथै १२० घाइते भएका थिए ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामका अनुसार आव २०७४/७५ मा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु तथा ३२ जना घाइते भएका थिए । त्यस्तै आव २०७६/७७ मा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ तथा घाइतेको सङ्ख्या ३४ रहेको सूचना अधिकारी रामले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जबाट जनावर सजिलै मध्यवर्ती क्षेत्रमा प्रवेश गर्ने र मानिससँग भेट हुँदा उनीहरुले आक्रमण गर्ने गरेका उहाँले बताउनुभयो ।

मानव–वन्यजन्तु द्वन्द्व बढेपछि यसको नियन्त्रणका लागि निकुञ्जले मध्यवर्ती क्षेत्रमा करेन्टको झड्का तथा मेसजाली लगाउन थालेको छ । “निकुञ्जका जनावर बस्तीमा प्रवेश रोक्नका लागि सबैभन्दा प्रभावकारी आरसिसी पर्खाल भएको छ”, सूचना अधिकारी रामले भन्नुभयो, “यो धेरै खर्चिलो भएकाले निकुञ्जले मेसजाली तथा झड्का लगाउन सहयोग गर्ने गरेको छ ।” विद्युतीय झड्काबाट वन्यजन्तुलाई क्षति नहुने भन्दै उहाँले त्यो विद्युतीय झड्का नाघेर जनावर बस्तीमा पस्न नसक्ने बताउनुभयो ।

करिब छ करोड राहत वितरण

निकुञ्जका जनावरबाट हुने मानवीय क्षतिका लागि वर्षेनी राहत प्रदान गरिँदै आएको सूचना अधिकारी अशोक रामले बताउनुभयो । उहाँका अनुसार पछिल्लो तीन वर्षमा जनावरका कारण मृत्यु भएका तथा घाइते भएका व्यक्तिको परिवारलाई करिब रु छ करोड राहत प्रदान गरिएको छ । आव २०७४/७५ देखि आव २०७६/७७ सम्म वन्यजन्तुको आक्रमणबाट भएको मानवीय क्षतिवापत निकुञ्जले राहतस्वरुप रु पाँच करोड ९० लाख ९६ हजार ६४४ प्रदान गरेको रामले बताउनुभयो ।

निकुञ्जले आव २०७४/७५ मा मृत्यु भएका पाँच जनाको परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले रु ५० लाख राहत उपलब्ध गराएको थियो । त्यस्तै निकुञ्जका जनावरबाट घाइते भएका व्यक्तिको उपचार खर्चसमेत निकुञ्जले व्यहोर्दै आएको छ । सो आवमा जनावरबाट घाइते भएका ३२ व्यक्तिको उपचार खर्चवापत रु २२ लाख २४ हजार ४५० पीडित परिवारलाई उपलब्ध गराइएको उहाँको भनाइ छ ।

जङ्गली जनावरको आक्रमणबाट व्यक्तिको मृत्यु भएमा निकुञ्जले रु १० लाख तथा घाइते भएमा उपचार खर्च उपलब्ध गराउँदै आएको सूचना अधिकारी रामले बताउनुभयो । आव २०७५/७६ मा जङ्गली जनावरका आक्रमणबाट मृत्यु भएका २२ जनाको परिवारलाई निकुञ्जले राहतस्वरुप रु दुई करोड २० लाख उपलब्ध गराएको छ । त्यस्तै घाइते भएका व्यक्तिको उपचार खर्चवापत रु एक करोड ११ लाख ९५ हजार ५१६ प्रदान गरिएको रामको भनाइ छ ।

अघिल्लो आव २०७५/७६ मा भन्दा गत आव २०७६/७७ मा मानव–वन्यजन्तु द्वन्द्व घटेको तथ्याङ्कले देखाएको छ । निकुञ्जको जनावरबाट हुने क्षति घटेसँगै राहत रकमसमेत घटेको सूचना अधिकारी रामले बताउनुभयो । गत आव २०७६/७७ मा जनावरबाट मृत्यु भएका नौ जनाको परिवारलाई रु ९० लाख तथा घाइते भएका ३४ जनाको उपचार खर्चवापत रु छ लाख ७६ हजार ६७८ प्रदान गरिएको उहाँको भनाइ छ ।

सबैभन्दा बढी क्षति चितवनमा

निकुञ्जको जनावरका कारण सबैभन्दा बढी क्षति चितवनमा भएको छ । निकुञ्जबाट निस्किएका जनावरले आक्रमण गर्दा मृत्यु हुने ३६ मध्ये ३४ वटा घटना चितवन जिल्लाको तथा दुई घटना नवलपरासीको भएको निकुञ्जले जनाएको छ । त्यस्तै घाइते भएका २५६ घटनामध्ये २१२ वटा चितवन, ३६ नवलपरासी, तीनवटा मकवानपुर, दुईवटा सर्लाही र एउटा पर्सामा भएका घटना हुन् ।

चालू आव २०७७/७८ को तीन महिनामा चितवन निकुञ्जबाट निस्किएको बाघको आक्रमणले तीन जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका तीनै जना चितवनका हुन् भने जङ्गलमा घाँस काट्ने जाने क्रममा उनीहरुलाई बाघले आक्रमण गरेको थियो । यस आवमा ज्यान गुमाउनेको परिवारलाई राहतवापतको रकम भुक्तानी गर्नका लागि प्रक्रिया भइरहेको सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!