दर्लिङ्गमा २५ घर विस्थापितहरुको भाग–दौड र रुवावासी, औषधी, खाद्यन्न र पिउने पानीको अभाव

Posted on: 29 Jul, 2016

प्रेम सुनार | साउन–१४, गुल्मी । गुल्मीको अति विकट गाउँ माध्येको दर्लिङ्गको दुनाम गाउँका वासिन्दा अविरल वर्षा संगै चारै तिरबाट आएको पहिरोले  घरबाट विस्थापित गरेपछि  सञ्चार माध्यमसंग हार–गुहार गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी महेन्द्र नेपालका अनुसार दर्लिङ्गको वडा नम्वर २ र ३ मा गरी १९ घर विस्थापित भएर कोही छिमेकी गाउँ त कोही खुल्ला आकसमुनी बस्ने बाध्य भएका छन् । तर स्थानियवासी रविन्द्र  बिश्वकर्माले २५ घर विस्थापित भएको र पौंदीअमराई प्रहरीचौकीबाट आएका दुई जना प्रहरी वाहेक आफुहरुको  उद्धारका लागि अरु कोही नभएको बताएका छन् ।

त्यहाँ खटिएका पौदीअमराई प्रहरी चौकीका प्रहरी हवल्दार राजेश नेपालीका अनुसार दर्लिङ्ग २ का वलबहादुर बिक, नरबहादुर राकाशकोटी, चुरामणी राकशकोटी, कृष्ण बिक, काशीराम लोहारको घर पहिरोले बगाएर विस्थापित भएका छन् ।

त्यस्तै वडा नम्वर ३ का शशीराम बिक, दिलबहादुर बिक, मिना बिक, लिलबहादुर बिक, झमाने बिक, धनबहादुर बिक, प्रेम घर्र्ति , शशीराम घर्ति , लिलबहादुर घर्ति, डिलबहादुर घर्ति, यमबहादुर घर्ति, रमा थापा, ढालबहादुर घर्ति , अनिता घर्ति, खड्ग बिक, रविन्द्र बिक , मनबहादुर घर्ति सहित २५ घरधुरी विस्थापित भएको स्थानिय रविन्द्र बिश्वकर्माले बताए  ।

गुल्मीको दर्लिङ्गको वडा नम्वर २ र ३ मा रहेको दुनाम गाउँ त्यस गाविसका लागि समेत विकट गाउँ भनेर चिनिन्छ । सदरमुकाम तम्घासबाट  ३६  किलो मिटर दुरीमा पर्ने दर्लिङ्ग गाविस कार्यालयबाट दुनाम गाउँ पुग्न दुई देखि ३ घण्टा सम्म लाग्ने गर्दछ । त्यस गाउँमा  अहिले सम्म मोटरबाटो पुगेको छैन् ।

अधिकांस  गरिव , दलित वस्ती रहेको दुनाम गाउँवासी सरकारी निकाय र दलका नेताहरुबाट समेत सौतेलो व्यवहार सहन बाध्य भएको  गुनासो गर्दछन् ।   पुरुषहरु अधिकांस भारतमा मजदुरी गर्न हिडेका छन् ।  अहिले घर पहिरोले बगाउँदा  विशेष गरी त्यहाँका अधिकांस महिलाहरु विचल्लीमा परेका छन् ।

पहिरोले घर संगै अन्न पात लुगा कपडा बगाउँदा त्यहाँ खाद्यन्नको समेत अभाव भएको छ ।  मानविय क्षति नभए पनि  थुप्रै  चौपाय मरेका छन् र ठुलो मात्रमा भौतिक क्षति भएको छ । चारै तिर पहिरोले घेरे पछि अर्को  सुरक्षित स्थानमा जान समेत मुस्कीले परेको स्थानियले बताएका छन् ।

त्यहाँका विक्रम बिश्वकर्मा संग टेलिफोन सम्र्क गर्दा महिला र वालवालिकाहरुको रुवावासी थियो । गाई भैंसी र मानिसहरुको  भागाभाग र चिच्चाहटले  दर्दानाक अवस्था रहेको बुझ्न सकिन्थ्यो ।   बिश्वकर्माले टेलिफोनमा गला अवरुद्ध पार्दै भने–‘ दुई जना पुलिस सरहरुले सके जती सहयोग त गर्नु भएको छ तर माथी गाविस कार्यालयका मान्छे र दलका नेताहरुले खासै वास्ता गरेका छैनन् ।

दलित वस्ती भएकोले यहाँ अघि पछिका दिनमा समेत खासै वास्ता गरिन्न ।  यति वेला यस गाउँमा खाने खर्च छैन् । पहिरोले मुहान वगाउँदा खानेपानीको समेत अभाव भएको छ ।    वालवालिकाहरु पानीले रुझेर रुघा–खोकी र कसैलाई ज्वरो आएको छ तर औषधी छैन् । यि कुराहरुमा सम्वन्धीत निकायको ध्यानकृष्ट गराई दिनु प¥यो । ’ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!