सप्तरीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

Posted on: 11 Oct, 2020

असोज २५, सप्तरी । यहाँ आज थप एक  कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका–७ ललितपुर पुख्र्यौली घर भई हाल राजविराज नगरपालिका– ६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको मृत्यु भएको राजविराज नगरपालिका ६ नं वडाध्यक्ष प्रेम यादवले बताउनुभयो ।

पछिल्लो एक महिनादेखि ज्वरो लागेको उनको स्वाब परीक्षण गर्दा गत मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बस्दै आएकी उनलाई आज बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो ।  यससमेत सप्तरीमा कोरोनाबाट तीन महिलासहित २१ जनाको मृत्यु भएको छ । 

रुपनी बन्द

रुपनी गाउँपालिकाका तीन कर्मचारी र एक वडा सदस्यसहित सो गाउँपालिकाका ११ जनामा आज कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिका बन्द गरिएको छ । रुपनी– ४ का सदस्य, सोही वडाका कार्यालय सहायक, गाउँपालिकाका कम्प्युटर सहायक र कार्यालय सहायकमा कोरोना सङ्क्रमण देखिएपछि एक साताका लागि कार्यालय बन्द गरिएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताउनुभयो । 

यही असोज २१ ४ नं वडाध्यक्षमा कोरोना पुष्टि भएको थियो । राजविराजस्थित प्रयोगशालामा आज गरिएको परीक्षणमा वडाध्यक्षका छोरा र छोरीमा समेत सङ्क्रमण देखिएको छ । गाउँपालिका अध्यक्ष यादवका अनुसार गत बिहीबार मृत्यु भएका आठराई गाउँपालिका, तेह्रथुममा कार्यरत सबओभरसियर रुपनी–१ का ३७ वर्षीय पुरुषका श्रीमती, साला र भिनाजुमा समेत आज कोरोना सङ्क्रमण देखिएको छ । 

जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालयका अन्य कर्मचारी र जनप्रतिनिधिमा समेत कोरोनाको जोखिम बढेकाले  सबै कर्मचारीको पिसिआर परीक्षण गराउनुपर्ने उहाँले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!