प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बैतडीको पञ्चेश्वरमा १९०० जना बेरोजगार सूचीकृत

Posted on: 17 Oct, 2020

कात्तिक १, बैतडी (रासस) । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बैतडीको पञ्चेश्वर  गाउँपालिकामा एक हजार ९२४ जना बेरोजगार सूचीकृत भएका छन् । 

आर्थिक वर्ष २०७७/७८ का लागि पञ्चेश्वर गाउँपालिकामा ५७० महिला र एक हजार ३९० पुरुष गरेर उक्त सङ्ख्यामा रोजगार व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) मा सूचीकृत भएको गाउँपालिकाका रोजगार संयोजक सन्ध्या जोशीले जानकारी दिनुभयो ।  

सरकारले २०७७ साल साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

तोकिएको समयावधिभित्र फाराम भरेका बेरोजगार व्यक्तिउपर वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका एक हजार ९२४ व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको  हो । सूचीकृत भएका सबैलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइसकिएको रोजगार संयोजक जोशीको भनाइ छ ।  

मन्त्रालयबाट उक्त सूची हेरेर रकम बाँडफाँड हुने बताइएको छ । सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने गाउँपालिकाका प्रवक्ता दशरथ मङ्गोलाले बताउनुभयो ।

एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिए बमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको हो । 

यसैबीच गाउँपालिकामा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाअन्तर्गत रु ५१ लाख ७० हजार आएकाले सूचीकृत भएकाहरुले नै रोजगार पाउने जनाइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!