बैतडी : प्रदेशसभा सदस्य भट्टलाई कोरोना

Posted on: 18 Oct, 2020

कात्तिक २, बैतडी (रासस) । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गत असोज २५ गतेदेखि होम क्वारेन्टिनमा रहेका बेला रुघाखोकीका लक्षण देखिएपछि परीक्षण गराएको हुँ, कोरोना पुष्टि भए पनि अहिले पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ ।” आफू अहिले सदरमुकामस्थित गढीमा रहेको घरमै होम आइसोलेसनमा बसिरहेको प्रदेशसभा सदस्य भट्टले बताउनुभयो ।

गत असोज १३ गते प्रदेश राजधानी कैलालीबाट फर्किनुभएका प्रदेशसभा सदस्य भट्ट यसअघि जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । उहाँका गाडी चालकको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

वडाअध्यमा पनि कोरोना सङ्क्रमण

यसैबीच जिल्लामा जनप्रतिनिधिसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा पाटन नगरपालिकास्थित एक वडाध्यक्षसहित दुई जनप्रतिनिधि, पाटनकै अन्य दुई जनामा कोरोना पुष्टि भएको हो । वडा नं ३ का ६० वर्षीय पुरुष, वडा नं ५ का ३९ वर्षीय महिला, वडा नं ३ का ३० वर्षीय पुरुष र  वडा नं ३ कै १२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

जनप्रतिनिधि र १२ वर्षीय पुरुषको कुनै ट्राभल हिस्ट्री नभएको र ३० वर्षीय पुरुष भने काठमाडौँबाट फर्किएका रहेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । कोरोना पुष्टि हुने सबै होम क्वारेन्टिनमा रहेका छन् । यस्तै पञ्चेश्वर गाउँपालिका वडा नं ४ का २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । डडेल्धुरा  अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण उनीहरु सबैमा कोरोना पुष्टि भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!