चाडपर्व लक्षित उत्सव र जात्रा नगर्न निर्देशन

Posted on: 18 Oct, 2020

कार्त्तिक २, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हुने विभिन्न किसिमका उत्सव र जात्राहरु नगर्न निर्देशन दिएको छ । 

कोरोनाको सङ्क्रमण बढ्नसक्ने भन्दै चाडपर्व लक्षित कार्यक्रमहरु बन्द गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । चाडपर्वमा पारिवारिक भेटघाट बाहेकका अन्य कार्यक्रमहरु नगर्न सबैमा जानकारी गराइएको छ । अघिल्ला वर्षहरुमा हुने गरेका विभिन्न प्रतियोगिता तथा कार्यक्रम नगर्न निर्देशन दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नवरात्रिको समयमा मठमन्दिर एवं शक्तिपीठहरुमा दर्शन निषेध गरिएको छ । जिल्लामा हुने सबै किसिमका मेला महोत्सवहरु नगर्न आयोजकहरुलाई आग्रह गरिएको छ ।”

मठमन्दिर एवं शक्तिपीठमा नित्य पूजाबाहेक दर्शन लगायतका अन्य गतिविधि रोकिएको हो । कोरोना सङ्क्रमणको त्रासमा चाडपर्वलाई मर्यादित बनाउँदै घरपरिवारसँग बसेर मनाउनुपर्ने शर्माले बताउनुभयो । अहिलेको महामारीको समयमा स्थानीय प्रशासनको आदेश पालना नगर्नेलाई सङ्क्रामक ऐन, २०२० आदेश अपहेलनाअनुसार कारबाही गरिने उहाँले उल्लेख गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!