कैदीलाई सांसदको खसी उपहार

Posted on: 18 Oct, 2020

कार्त्तिक २, ओखलढुङ्गा । प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले यहाँका कैदीबन्दीलाई खसी उपहार दिनुभएको छ । दशैँका अवसरमा सांसद सुनुवारले जिल्ला कारागार ओखलढुङ्गामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी हस्तान्तरण गर्नुभएको हो । 

विभिन्न घटनामा संलग्न भएर कानूनबमोजिम कारबाही भोगिरहे तापनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीलाई सम्झिएको सांसद सुनुवारले बताउनुभयो । 

कारागारमा फुर्सदमा बस्दा क्षमता विकास गर्न सांसद सुनुवारले कैदीबन्दीलाई सुझाव दिनुभयो । पुस्तक पढ्ने, रेडियो सुन्ने, विभिन्न सीपमूलक काम सिक्ने जस्ता कार्य गरेर आफ्नो क्षमता बढाउन सकिने उहाँको भनाइ थियो । सांसद सुनुवारले २०७० सालदेखि दशैँका समयमा कैदीबन्दीलाई खसी सहयोग गर्दै आउनुभएको छ । 

खसी उपहार दिन कारागार पुग्नुभएका सांसद सुनुवार, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललगायतलाई कैदीबन्दीले आफूले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलले कारागारमा क्षमताभन्दा बढी कैदी राखिनुपर्ने बाध्यता रहे पनि आन्तरिक व्यवस्थापन राम्रो गर्ने प्रयास भइरहेको बताउनुभयो । कैदीबन्दीबीचको एकता र मेलमिलाप चर्चायोग्य छ भन्दै प्रजिअ पौडेलले आगामी दिनमा पनि मिलेर बस्न आग्रह गर्नुभयो । कारागारको समस्या समाधानका लागि माथिल्लो निकायमा सिफारिश गरिएको उहाँको भनाइ थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!