सांसद बस्नेतद्वारा दशैंभत्ताको रकम भक्तपुर अस्पताललाई

Posted on: 19 Oct, 2020

कात्तिक ३, भक्तपुर (रासस) । भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्तावापतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गर्नुभएको छ । अस्पतालमा सेवा लिन आउने गरीब, विपन्न र असहाय बिरामीको उपचारका लागि खर्च गर्ने गरी आज उहाँले सो रकम हस्तान्तरण गर्नुभयो । 

नेकपाका केन्द्रीय सदस्य बस्नेतले अस्पताल पुगेर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल र  मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमलाई रु ६५ हजार हस्तान्तरण गर्दै जीवन शैली सरल र पारदर्शी बनाउनु  आवश्यक रहेको र चाडपर्व तडकभडक गरेर मनाउनुभन्दा  गरीब र असहायलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । 

अहिलेको विषम परिस्थितिमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सबैले आआफ्ना क्षेत्रबाट सहयोगात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले सबै स्थानीय सरकारलाई आफ्ना स्थानीय तहमा अस्पताल निर्माण गर्न आह्वान गर्नुभयो । सांसद बस्नेतले अस्पतालमा कोभिड–१९का बिरामीको उपचारबारे जानकारी लिँदै अतिसघन कक्ष र कोभिड ब्लकको अनुगमनसमेत गर्नुभयो ।

हाल ६ शय्याको भेन्टिलेटरसहित १५ शय्याको आइसोलेशन  सञ्चालन भइरहँदा कोभिड बिरामीको चाप अत्याधिक बढेपछि आजदेखि थप आठ शय्या थपेर अक्सिजन आवश्यक पर्ने कोभिड बिरामीको उपचार गरिएको अध्यक्ष सुवालले जानकारी दिनुभयो । सरकारले कोभिड बिरामीको उपचारका लागि १०० शय्या थप गर्न रु एक करोड १० लाख बजेट पठाए पनि ठाउँ र भवन अभाव हुँदा समस्या परेको जनाउँदै मेसु डा गौतमले ठाउँका लागि कतै व्यवस्थापन भए सहज हुने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!