भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

Posted on: 21 Oct, 2020

कात्तिक ५, कावासोती | भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । 

आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो । उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन् । वैदेशिक रोजगारीका लागि भन्दै भारत पुर्याइएका ती बालकलाई उद्धार गरेर मङ्गलबार अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिनुभयो । 

उहाँका अनुसार रोजगारीका लागि लगिएका ती बालकलाई भारतको गाजियावादबाट उद्धार गरेर भारतीय प्रहरीले सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो । उद्धार गरिएका बालक १४ देखि १८ वर्ष उमेर समूहका छन् । उनीहरुलाई भारत लैजाने चार जना व्यक्तिलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!