देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय

Posted on: 30 Oct, 2020

कात्तिक १४, काठमाडौँ । सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ । 

नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १०  नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको जानकारी दिनुभयो । 

देहरादून घटनाबारे राससलाई  प्रतिक्रिया दिँदै प्रवक्ता लम्सालले भन्नुभयो, “ उत्तराखण्ड बालअधिकार आयोगका अध्यक्षलगायत पदाधिकारीको उपस्थितिमा छलफल भएको तथा घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय प्रशासनले क्षमायाचना गर्नाका साथै भविष्यमा यस्ता घटना नहुने प्रतिबद्धता व्यक्त गरेको छ ।”

नयाँदिल्लीस्थित दूतावासका ‘काउन्सलेर’ प्रकाश अधिकारी हाल नेपालमा रहनुभएकाले पीडित र अन्य विद्यार्थीका अभिभावकसँग उहाँले छलफल गर्नुभएको जानकारी दिँदै प्रवक्ता लम्सालले अभिभावकको चाहनानुसार सहजकर्ताको भूमिका निर्वाह गर्न मन्त्रालय तत्पर रहेको बताउनुभयो । उहाँले सम्बन्धित निकायसँग दूतावास र परराष्ट्र मन्त्रालयले निकट सम्पर्कमा रहेर समन्वय गरिरहेको जानकारी पनि दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!