घुस लिएको अभियोगमा पक्राउ

Posted on: 01 Nov, 2020

कात्तिक १६ काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौशाला नगरपालिका महोत्तरी रामनगरस्थित सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । प्रहरी जवान चौहानलाई घरायसी प्रयोजनका लागि दाउरा लैजान सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु १७ हजार ६०० घुस लिएको अभियोग लागेको छ । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले आरोपी चौहानलाई गौशाला नगरपालिका २ निगौलचोकबाट पक्राउ गरिएको हो । 

यस्तै आयोगले प्रहरीचौकी तिलाठी सप्तरीमा कार्यरत प्रहरी नायब निरीक्षक सिकन्दर कानुले रु ५० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।बरामद गरी चौकीमा राखिएको मोटरसाइकल फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको अभियोग उनमा लागेको छ । आरोपी कानुनलाई तिलाठी कोइलाठी गाउँपालिका १ बेल्हीबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ । 

उनलाई दुई साता अगाडि खाद्यान्नसहित बरामद मोटरसाइकल छाड्ने शर्तमा सेवाग्राहीसँग पटकपटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको रु ५० हजारसहित पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ । 

‘स्टिंग अपरशेन’ भइरहेको र अन्य विस्तृत विवरण आउन बाँकी रहेको आयोगको इटहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले बताउनुभयो ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले आयोगको इटहरी कार्यालयले स्टिं«ग अपरेशनको सहजीकरणका लागि सहयोग माग गरेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नेतृत्वको टोली भन्सार कार्यालय पठाइएको बताउनुभयो ।

दुई मतियार पक्राउ

सप्तरी –आयोग इटहरीको टोलीले सप्तरीबाट प्रनानि  कानुका दुई मतियारलाई पनि पक्राउ गरेको छ । सेवाग्राहीबाट लिएको रु ५० हजार प्रनानि कानुले प्रहरी जवान रामेश्वर यादवलाई नजीकैको जयनारायण यादवको किराना पसलमा लगेर राख्न लगाएको खुलेपछि टोलीले तीनै जनालाई पक्राउ गरेको आयोगका प्रवक्ता अधिकारीले बताउनुभयो । प्रहरी जवान रामेश्वर र व्यापारी जयनारायण मतियारका रुपमा पक्राउ परेका हुन् ।

दुई साता अगाडि खाद्यान्न समानसहित बरामद मोटरसाइकल छाडन सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको रु ५० हजारसहित तीनै जना पक्राउ परेको आयोगको इटहरी कार्यालयले जनाएको छ । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि सुनसरीको इटहरीस्थित कार्यालय लगिएको छ ।

प्रहरी चौकी तिलाठीमा राखिएको मोटरसाइकल छाड्ने प्रक्रिया मिलाएर लेखिएको कागजसमेत टोलीले फेला पारेको छ । आयोगको टोली कार्यालय प्रवेश गर्नासाथ प्रनानि कानुले हतारहतार उक्त कागज च्यातेर मिल्काएको अवस्थामा फेला परेको थियो ।  रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!