बस दुर्घटना: छ जनाको सनाखत

Posted on: 31 Jul, 2016

साउन १६, हेटौडा । गए राति बस दुर्घटनामा मृत्यु भएका नौमध्ये छ जनाको सनाखत भएको छ । 

काठमाडौँबाट उदयपुरतर्फ जाँदै गरेको अग्नि यातायातको ना५ख ५०५५ नंको बस र काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको इमेज यातायातको ना५ख ४०६४ नंको बस ठोक्किँदा इमेज बसका सहचालक झापा तोपगाछी– ९ का ३९ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, उदयपुर त्रियुगा नगरपालिका– १० का १० वर्षीय मणिरत्न चौधरी, २५ वर्षीय विनोद चौधरी तथा २७ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ । 

यस्तै त्रियुगा नगरपालिका– ३ का तीन वर्षीया मुस्कान चौधरी र बारा सिम्रौनगढ– ३ का २७ वर्षीय विशाल चौधरीको पनि मृत्यु भएको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो । मृत्यु भएका अन्य तीन जनाको सनाखत हुन सकेको छैन । 

तीव्र गतिमा रहेका दुवै बस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा दुर्घटनामा परेका थिए । दुर्घटनामा घाइते ३२ मध्ये १५ जनाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । अन्य १४ यात्रु भने उपचारपछि घर फर्किसकेको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!