झोलुङ्गे पुल बगेपछि सयौँ विद्यार्थी समस्यामा

Posted on: 31 Jul, 2016

साउन १६, गुल्मी । मुसीकोट र वामिटक्सार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएपछि त्यस क्षेत्रका सयौँ विद्यार्थी पढ्नबाट वञ्चित हुन पुगेका छन् । 

बढीघाट खोलामा आएको बाढीले गत साता उक्त क्षेत्रको सुदीमा रहेको झोलुङ्गे पुल बगाएपछि विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न समस्या परेको हो । मुसीकोट र बडागाउँ गाविसका करिब २०० भन्दा बढी विद्यार्थी त्यही पुलको प्रयोग गरी वामिटक्सारमा रहेको विद्यालय र कलेजमा दिनहुँ अध्ययन गर्न जाने गर्छन् । 

विद्यालयसम्म आवतजावत गर्नका लागि गाउँ नजिकै रहेको झोलुङ्गे पुल बाढीले बगाइदिएपछि उनीहरुलाई विद्यालयसम्म पुग्न तीन घन्टाको लामो बाटो घुमेर बागलुङको खर्बाङ हुँदै विद्यालयसम्म पुग्नुपर्ने हुन्छ । 

वर्षायामको समय र लामो बाटो हुँदै जानुपर्ने भएका कारण उनीहरुलाई विद्यालय जान समस्या परेको स्थानीयवासी जनक केसीले बताउनुभयो । उक्त क्षेत्रका विद्यार्थीको समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा प्रजिअसँग छलफल भइरहेको र चाँडै यसबारेमा विकल्प खोजी गरिने जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले जानकारी दिनुभयो । 

बडागाउँ र वामीको झेँदीमा रहेको झोलुङ्गे पुल समेत बढीघाट खोलाको बाढीले बगाउने अवस्थामा रहेको छ । खोलाको बाढीले उक्त पुलको जग खोलिदिएपछि पुल उच्च खतरामा परेको कारण स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षाको कारण बन्द भएका सदरमुकाम तम्घासका विद्यालय भने आइतबारदेखि पुनःसञ्चालन भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!