बागलुङमा घरगोठ जल्दा १० लाखको क्षति

Posted on: 16 Nov, 2020

मङ्सिर १, बलेवा । बागलुङको जैमिनी नगरपालिका–९ पैँयुथन्थापमा आइतबार साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ । पैँयुथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मनबहादुर नेपालीको गोठ जलेको हो । ढुङ्गा माटोले बनेको कच्ची घरगोठ जलेका हुन् । 

ललिताको घरमा विद्युत चुहिएर लागेको आगोले छेवैमा रहेको गोठसमेत समातेको स्थानीयले बताए । आगलागीबाट घरमा रहेका लत्ता कपडा, अन्नपात सबै जलेका छन् । केही नगद र गरगहनासमेत जलेको पीडित सर्कीनीले बताउनुभयो । 

साँझको समयमा घरमा आगलागी भएका घरमा बस्नेहरुले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । गोठमा रहेका पशु चौपायलाई समेत दाम्लो काटेर जोगाइएको स्थानीय बबिन शर्माले बताउनुभयो । उहाँका अनुसार घरगोठ जल्दा करिब रु १० लाखको क्षति भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!