कोरोना उपचारः रिजेनेरोनको एन्टीबडी उपचार पद्धतिलाई अमेरिकामा अनुमति

Posted on: 22 Nov, 2020

मंसिर ७, वासिङ्टन (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनाभाइरस उपचारमा प्रयोग गरिएको रोगप्रतिरोधी थेरापी (एन्टीबडी थेरापी) लाई अमेरिकी औषधि नियामक निकायले प्रयोगमा ल्याउन सिफारिस गरेको छ । 

कोरोनाका कारण स्वास्थ्य जोखिम निकै रहेका तर अस्पतालमा भर्ना भइ नसकेका बिरामीमा यो उपचार विधि प्रयोग गर्न अनुमति दिइएको हो । 

औषधि निर्माता रिजेनेरोनले तयार पारेको रिजेन–कोभ२ नामको औषधिले कोभिड–१९ सँग सम्बन्धित अस्पताल भर्नालाई रोक्न वा न्यून गर्न निकै उपयोगी देखिएको छ । अन्य रोगका कारण समस्यामा परिरहेका बिरामीलाई पनि यो औषधि उपयोगी हुनेछ । 

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) का आयुक्त स्टेफेन हानले रिजेन–कोभ२ औषधि सेवन गर्ने कोभिड–१९ बाट संक्रमित व्यक्तिले हत्तपत्त अस्पताल भर्ना वा अस्पताल गइहाल्नु नपर्ने देखिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य सेवा प्रणालीमाथिको अतिरिक्त दबाब कम गर्न पनि यो औषधि निकै उपयोगी रहेको बताउनुभयो ।

रिजेनेरोनका अध्यक्ष एवं प्रमुख कार्यकारी लियोनार्ड स्लाइफरले यो कदम कोभिड–१९ बिरुद्ध लड्न एउटा महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । कोभिड–१९ का कारण उच्च स्वास्थ्य जोखिममा रहने बिरामीले आफू संक्रमित हुनासाथ यो औषधिको सेवनबाट ठूलो लाभ लिन सक्ने पनि उहाँले बताउनुभयो ।

एन्टीबडी थेरापी उपचारका लागि अनुमति प्राप्त गर्ने अमेरिकाको रिजेनेरोन दोस्रो कम्पनी हो । यसअघि अमेरिकी कम्पनी एली लिल्लीले गत नोभेम्बर ९ मा एन्डीबडी थेरापीका लागि अनुमति पाएको थियो । 

यस औषधिको प्रयोगबाट मानिसको रोगप्रतिरोधी क्षमता स्वाभाविक रुपमा बढ्छ । शरीरमा प्रतिरोधी क्षमता विकास गर्न प्राकृतिक विधिबाट कम मात्र सफलता प्राप्त भएपछि रिजेनेरोन र एली लिल्लीले प्रयोगशालाबाट एन्टीबडी थेरापी उत्पादन गरेका हुन् ।

उनीहरुले सार्स–कोभ–२ (कोभिड–१९) भाइरसको सतहको प्रोटिनलाई नियन्त्रित गरी यसलाई मानिसको शरीरभित्र प्रवेश गर्नबाट रोक्ने वैज्ञानिकहरुले बताएका छन् ।

कम्पनीले नोभेम्बरको अन्त्यसम्ममा ८० हजार बिरामीका लागि औषधि तयार गर्ने जनाएको छ । आगामी जनवरी २०२१ को अन्त्यसम्ममा करिब तीन लाख बिरामीले यो औषधि प्राप्त गर्न सक्नेछन् । 

यो औषधि हालका लागि अमेरिकामा मात्र उपलब्ध हुनेछ र सरकारी कार्यक्रम बमोजिम बिरामीले निःशुल्क प्राप्त गर्नेछन् ।

रिजेनेरोनले कोभिड–१९ को औषधि निर्माण गर्न ४५ करोड अमेरिकी डलर आर्थिक सहायता प्राप्त गरेको थियो ।

गत महिना पनि रिजेनेरोनले तयार पारेको इबोला भाइरस विरुद्धको एन्टीबडी औषधिलाई अमेरिकी नियामक निकाय एफडीएले प्रमाणपत्र दिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!