बैतडीमा युवतीमाथि बलात्कार,१ तोला सुनमा घटना मिलाउन खोजियो

Posted on: 26 Nov, 2020

मंसिर ११, बैतडी | गत जेठमा बैतडीको सिगास गाउँपालिकामा १८ वर्षीया युवतीमाथि भएको बलात्कारको घटनालाई  मिलाउनेमाथि पनि कारबाही हुने सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ | घटनालाई गाउँमै मिलापत्र गरिएको विषय बाहिरिएपछि प्रहरीले घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने बताएको हो |

गत जेठ २३ मा सिगास गाउँपालिकाको वडा नम्बर ३ का दिपकसिह धामीले आफुमाथि बलात्कार गरेको ती युवतीको आरोप छ | तर गाउँका अगुवाले युवतीमाथि भएको बलात्कारको घटना १ तोला सुन दिने भन्दै गाउँमै मिलापत्र गरेका थिए |

‘म बिहान पानी भर्न गएका बेला दिपकले मलाई जबरजस्ती गरेका थिए। पछि गाउँमा कागजात बनाएर मलाई १ तोला सुन दिन्छु भन्दै जबरजस्ती औंठा छाप लगाउन लगाइयो’ पिडित युवतीको भनाइ छ | प्रहरी समेतले गाउँमै मुद्धा मिलाउन सुझाव दिएको उनले बताइन | 

पिडित युवतीका अनुसार,गाउँका अगुवा राजेन्द्रसिंह धामी, मनोज सिंह धामी, अमरसिंह धामी, नरेन्द्र धामी र गोपाल धामीले तमसुक बनाएका थिए | उक्त तमसुक अनुसार पीडक पक्षले १ तोला सुन नदिएपछि घटना बाहिरिएको छ |

बलात्कारमा संलग्न व्यक्ति र घटना गाउँमै मिलापत्र गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!