दुबई–तेल अभिभ प्रत्यक्ष उडान शुरु

Posted on: 26 Nov, 2020

मंसिर ११, दुबई (रासस–एएफपी) । युनाइटेड अरब इमिरेट्स (युएई) को बजेट एयरलाइन्स फ्लाई दुबईले इजरायलको तेल अभिभ उडान शुरु गरेको छ । युएई र इजरायलबीच सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी सम्झौता भएपछि निजी क्षेत्रबाट उडान प्रारम्भ भएको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले विमान सेवा प्रारम्भ हुन लागेको जानकारी दिनु भएको छ । यो उडान करिब ४ घण्टाको हुनेछ ।

प्रधानमन्त्रीका प्रवक्ता ओफर गेन्डिलम्यानले ट्वीट गर्दै प्रधानमन्त्री नेतन्याहूले फ्लाइ दुबईका पहिलो उडानका यात्रुलाई बेन–गुरिओन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गर्नु हुने जानकारी दिनुभएको छ ।

युनाइटेड अरब इमिरेट्सले गत सेप्टेम्बरमा इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्ने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको थियो । 

अमेरिकी अग्रसरतामा भएको यस्तो सम्झौता गर्ने खाडी क्षेत्रका मुलुकहरुमध्ये युएई तेस्रो हो । यसअघि सन् १९७९ मा इजिप्ट र सन् १९९४ मा जोर्डनले इजरायलसँग कुटनीतिक सम्बन्ध कायम गरेका थिए ।

फ्लाइ दुबईले दिनमा दुई वटा उडान भर्नेछ । इजरायली विमानसेवा कम्पनीहरु एल अल र इसरायर दुबैले अर्को महिनादेखि व्यापारिक व्यावसायिक उडान शुरु गर्ने अपेक्षा गरिएको छ ।

युएईको राजधानी अबु धाबीमा मुख्यालय रहेको एतिहाद एयरवेजले भने आगामी सन् २०२१ को मार्चदेखि तेल अभिभको सिधा उडान गर्ने तयारी गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!