कञ्चनपुरमा ट्रकले ठक्कर दिँदा प्रहरी हबल्दारको घटनास्थलमै मृत्यु

Posted on: 29 Nov, 2020

मङ्सिर १४, कञ्चनपुर (रासस)  । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुर नजीक ट्रकले ठक्कर दिँदा मोटरसाइकल सवार प्रहरी हबल्दार करीब ३६ वर्षीय रामबहादुर बिष्टको आज घटनास्थलमै मृत्यु भएको छ ।

महेन्द्रनगरबाट धनगढीतर्फ आउँदै गरेको से१क १४०६ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु१२प ५१५ नंको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हबल्दार बिष्टको मृत्यु भएको हो । प्रहरी हबल्दार बिष्ट भीमदत्त नगरपालिकाको झोलुङ्गे अस्थायी प्रहरी चौकीमा कार्यरत रहेको बताइएको छ ।

ठक्कर दिने ट्रकका चालक गोदावरी नगरपालिका–१ का २८ वर्षीय यज्ञराज भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । मृतक बिष्ट शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दा रहेको बताइएको छ । 

नक्कली नोटसहित पक्राउ

नक्कली नोटसहित भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दीपक नाथलाई आज प्रहरीले पक्राउ गरेको छ । हजारका दरका तीन थान नक्कली नोटसहित नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । 

स्थानीय पसलमा सामान खरिद गर्ने क्रममा नाथले नक्कली नोट दिएको पाइएपछि पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका नाथमाथि थप अनुसन्धान भइरहेको उहाँको भनाइ  छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!