दिल्लीमा आइतबार कोभिड–१९ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या धेरै

Posted on: 29 Nov, 2020

मङ्सिर १४, नयाँ दिल्ली (रासस/एएनआई) । भारतको राजधानी नयाँ दिल्लीमा आइतबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या थप चार हजार ९०६ रहेको यहाँको राज्यस्तरीय स्वास्थ्य विभागले जानकारी गराएको छ ।

दिल्लीमा आइतबार निको भई घर फर्किने कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या छ हजार ३२५ रहेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । यसरी हेर्दा भारतको राजधानीमा सङ्क्रमित विरामीभन्दा सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या बढ्दो देखिएको छ । 

राजधानी दिल्लीमा शनिबारको तुलनामा आइतबार सङ्क्रमण पुष्टि हुने विरामी पनि कम देखिएका छन् । अहिलेसम्म दिल्लीमा कूल पाँच लाख ६६ हजार ६४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

विभागले जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार दिल्लीमा विगत २४ घण्टामा कूल ६४ हजार १८६ जनाको कोभिड परीक्षण गरिएको थियो । 

तथ्याङ्कले दिल्लीमा नोभेम्बर ७ मा कोभिड सङ्क्रमित दर १५.२६ रहेकोमा महिनाको अन्त्यसम्म आइपुग्दा यो दर ९.०८ प्रतिशत कायम भएको राज्य सरकारका स्वास्थ्यमन्त्री सत्यन्दर जैनले बताउनुभयो । 

त्यसैगरी दिल्लीमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ६८ व्यक्तिको मृत्यु भएको र अहिलेसम्म यहाँ कूल नौ हजार ६६ जनाको मृत्यु भएको बताइएको छ ।

दिल्लीमा अहिले ३५ हजार ९१ कोभिड सङ्क्रमित व्यक्ति उपचाररत रहेका छन् भने पाँच लाख २२ हजार ४९१ व्यक्ति निको भई घर फर्किएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!