बौद्धमा आमाछोरी मृत फेला

Posted on: 03 Dec, 2020

मङ्सिर १८, काठमाडौँ (रासस) । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले श्रीमान् दोर्जे शेर्पा भने अचेतवस्थामा फेला परेको जानकारी दिनुभयो ।  उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको बताइएको छ । 

राति सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको आशङ्का छ । तिनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । 

किराना पसल सञ्चालन गर्दै आएका उनीहरुको कोठामा बोलाउन जाँदा नखोलेपछि ग्राहकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार झ्यालढोका सबै बन्द थिए  । क्वाइलवाला र इलेक्ट्रिकल हिटर बालेर सो परिवार सुतेको फेला परेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!