कक्षा १२ को अन्तिम परीक्षाको फाराम भर्नुअघिसम्म कक्षा ११ को नतिजा पठाउन निर्देशन

Posted on: 04 Dec, 2020

मंसिर १९, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम भर्नुअघिसम्म कक्षा ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयहरूलाई निर्देशन गरेको छ । त्यसअघि विद्यालयले आफ्नो आन्तरिक कार्यतालिका अनुसार परीक्षा गर्न सक्नेछन् । पुरानो शैक्षिक सत्रको कक्षा १२ को परीक्षा झण्डै आठ महिनापछि भएकाले नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यस्तो गृहकार्य गरिएको हो ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षाको अन्तिम फाराम भर्नुअघिसम्म कक्षा ११ को परीक्षा लिएर नतिजा प्रकाशनको काम विद्यालयहरूले सक्नुपर्ने कार्यतालिका रहेको बताए ।

कक्षा १२ को परीक्षा फाराम हाल खुलेको छैन । भर्खरै बोर्डले स्थगित अवस्थामा रहेको यसअघिको कक्षा १२ को परीक्षा भने लिइसकेको छ । यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसित छलफल गरिने उनको भनाइ छ । शैक्षिक सत्रको गणना कहिलेबाट कसरी गर्ने भन्ने विषयमा मन्त्रालयसित कुराकानी गरेर टुङ्गो लगाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । यस अवधिमा विद्यालयहरूले विद्यार्थीको परीक्षा आन्तरिक रूपमा सञ्चालन गर्न सक्नेछन् ।

बोर्डले यस पटकबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिएको छ । कोरोना सङ्क्रमणका कारण यस पटकबाट कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार विद्यालयलाई दिइएको भए पनि अब त्यो अधिकार सधैँका लागि विद्यालयलाई नै हस्तान्तरण गरिएको जानकारी बोर्डले दिएको छ । यसअघि कक्षा ११ को अन्तिम परीक्षा राष्ट्रियस्तरमा नै बोर्डले नै सञ्चालन गर्ने गरेको थियो ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!