मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड बन्द

Posted on: 07 Dec, 2020

मङ्सिर २२, गलकोट (रासस) । लामो समयदेखि ठेकेदार कम्पनीको बेवास्ताका कारण अलपत्र रहेको मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा मङ्सिर २५ गतेदेखि काम हुने भएको छ । मङ्सिर २१ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले गरेको अन्तरक्रियामा मध्यपहाडी लोकमार्गको उपल्लाचौर–अछेते खण्डको ठेकदार कम्पनीले खहरेको चट्टान कटानका लागि समय माग गरेपछि दैनिक छ घण्टा बन्द गर्ने निर्णय गरेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेका अनुसार लोकमार्गको खहरेमा बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ११ बजेदेखि ३ बजेसम्म बन्द गरेर चट्टान काट्ने निर्णय भएको छ । बागलुङ–घोडाबाँधे सडकको तल्लो खण्डको निर्माण जिम्मेवारी लिएको भारत सिद्धिसाई जेभीका प्रतिनिधि दिपेन्द्र शाहीले खहरेमा चट्टान कटानका लागि सवारी बन्द गर्न माग गरेपछि २० दिनका लागि समय तालिकाअनुसार दैनिक छ घण्टा सवारी आवतजावत बन्द गरिने भएको हो । 

शाहीले काममा ढिलाइप्रति आत्मालोचना गर्दै अबको छ महिनाभित्रै कालोपत्रे गर्ने योजनाअनुसार सडक बन्द गर्न थालिएको छ । सदरमुकाम नजिकै रहेको उपल्लाचौर–अक्षेते–खण्डको खहरेको भीर कटानका लागि २० दिन समय तालिका बनाएर लोकमार्ग बन्द गरी काम थालिने निर्माण व्यवसायीले जनाएको छ । 

यही मङ्सिर २५ गतेदेखि पौष १५ सम्म खहरेको चट्टान काट्ने गरी जिल्ला प्रशासनले समय तालिकासमेत निकाली सकेको छ । सवारी साधन बन्द गरिएको समयमा साना सवारी साधन बागलुङ बजारदेखि गहते हुँदै खहरेदेखि पाला हुँदै अछेते जाने गरी वैकल्पिक सडक प्रयोग गर्न मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनाका कार्यालय प्रमुख मेघराज मरासिनीले जानकारी दिनुभयो । सडक निर्माण र वैकल्पिक सडकका लागि काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकासँग समन्वय गरिएको आयोजनाको भनाइ छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!