सञ्चालनमा आएन आइसियु, बैतडीमा हालसम्म ५८५ जना कोरोना संक्रमित

Posted on: 12 Dec, 2020

मङ्सिर २७, बैतडी | सुदूरपश्चिम प्रदेश सरकारको  सहयोगमा दश दिन अगाडि जिल्ला अस्पताल बैतडीमा जडान  भएको भेन्टिलेटरसहितको दुई श्ययाको आइसियु कक्ष सञ्चालनमा समस्या भएको छ । जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनमा समस्या भएको हो ।  

कोरोना भाइरसका जटिल खालका बिरामीलाई मध्यनजर गरेर भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । मङ्सिर १७ गते जडान गरेको भेन्टिलेटरसहितको आइसियुका लागि दक्ष जनशक्ति नहुँदा तत्काल सञ्चालनमा बाधा पुगेको डा जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “आइसियु सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भए पनि जिल्ला अस्पतालमा नहुँदा आइसियु सञ्चालनमा समस्या छ,  अस्पतालमा कार्यरत डाक्टर र नर्सले आइसियु सञ्चालनलाई तालीमको आवश्यकता पर्ने र त्यो तालीम पनि कसैले पनि लिएको छैन ।” 

आइसियु सञ्चालनमा नआउँदा जटिल खालका कोरोनाका बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् । बैतडीमा हालसम्म ५८५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ ।  रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!