क्यान्सर पिडित लिम्बुको उपचारकालागि सहयोग जुट्न थाल्यो

Posted on: 02 Aug, 2016

प्रकाश धौलाकोटी | तेह्रथुम, १८ साउन । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार बाहिर आएपछि धनकुटा परेवादिन–१ का क्यान्सर पीडित हेमकुमार लिम्बूलाई उपचारकालागि सहयोग जुट्न थालेको छ । लिम्बूको उपचारमा सहयोगकालागि मलेसियामा रहेका प्रबासी नेपालीहरुद्धारा सञ्चालित सांगीतिक हटसप अनलाइन ग्रुपले ९ हजार १ सय २४ रुपैयाँ सहयोग गरेको छ । 

सो रकम मंगलबार छथरको शुक्रबारेमा एक कार्यक्रम गर्दै छथर पत्रकार समाजका अध्यक्ष प्रकाश पाक्सावाले बिरामी रहेका लिम्बुका दाजु केसरमान लिम्बुलाई हस्तान्तरण गर्नुभएको छ । उनको अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । 

असंख्य रुपमा खोलिएका हटसपहरु मनोरञ्जनको लागि मात्र नभई समाज सेवाकालागि पनि सक्रिय हुनसक्छन् भन्ने उदाहरण स्वरुप सहयोग गरिएको ग्रुपका संस्थापक धर्म चौहानले बताउनुभयो । भाइको उपचारमा सहयोग गर्ने प्रवासी नेपालीहरुलाई धन्यवाद दिँदै लिम्बुका दाजु केशरमानले सहयोगको याचना गर्नुभयो ।

कार्यक्रममा रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिख आँखेवाले बोल्दै लिम्बूको उपचारमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रम छथर पत्रकार समाजका सचिव उदयदीप सुब्बाले सन्चालन गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!