कृषि विश्वविद्यालयः प्रा दत्त र प्रा डा बस्नेत डीन नियुक्त

Posted on: 20 Dec, 2020

पुस ५, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई संकायका डीन नियुक्त गरिएको छ ।  गत जेठ १ गतेदेखि रिक्त  कृषि सङ्काय र पशुविज्ञान, पशु चिकित्सा तथा मत्स्यपालन सङ्कायमा डीन नियुक्त गरिएको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीका अनुसार छनोट समितिले सिफारिस गरेका नाममध्येबाट डीन नियुक्त गरिएको हो ।  सोअनुसार कृषि सङ्कायमा प्रा जयप्रकाश दत्त र पशु विज्ञानमा प्रा डा होमबहादुर बस्नेतलाई नियुक्त गरिएको छ ।  कृषिमा प्रा डा अरविन्दकुमार श्रीवास्तव र प्रा डा अर्जुनकुमार श्रेष्ठसहित तीन जनाको नाम सिफारिस भएको थियो । त्यस्तै पशुविज्ञानमा प्रा डा सुमिला राई र प्रा डा भूमिनन्दन देवकोटासहित तीन जनाको नाम सिफारिस भएको थियो । दुवै सङ्कायमा सातसात जनाको आवेदन परेको थियो । तीमध्येबाट छनोट समितिले तीन जना सिफारिस गरेको हो । 

प्रा डा रेग्मीले सिफारिस भएका नामबाट कार्यकारी परिषद्ले डीन नियुक्त गरेको जानकारी दिनुभयो । त्यसैगरी अनुसन्धान निर्देशकमा प्रा डा अर्जुनकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ । श्रेष्ठ यसअघि सोही विश्वविद्यालयको योजना निर्देशक रहनुभएको थियो ।  अनुसन्धान निर्देशक प्रा डा नवराज देवकोटा गण्डकी प्रदेश सरकारको विश्वविद्यालयमा उपकुलपति भएपछि सो पद रिक्त रहेको थियो । 

यसैगरी विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट रजिष्ट्रारमा नियुक्त गर्न आह्वान गरेअनुरुप ११ जनाको आवेदन परेको छ । रेग्मीका अनुसार तीमध्येबाट तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्ने तयारी गरिएको छ । छनोट समितिले ११ जनामध्येबाट तीन जनाको नाम उपकुलपतिलाई सिफारिस गरेको बुझिएको छ । हाल नाम सार्वजनिक गर्न रेग्मीले अस्वीकार गर्नुभयो ।  सो विश्वविद्यालयमा रजिष्ट्रार पद गत माघ १२ गतेदेखि रिक्त छ । सोका कारण विश्वविद्यालयसभासमेत हुन सकेको छैन । यता नियिुक्त चित्तबुझ्दो नभएको जनाउँदै विश्वविद्यालयको नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । सो सङ्गठनले एकलौटी रुपमा नियुक्ति गरेको जनाउँदै उपकुलपतिको राजीनामा माग गरेको छ । उपकुलपति रेग्मीले भने सबै प्रक्रिया पूरा गरेर आफूले नियुक्ति अघि बढाएको बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!