डोटीमा लामो समयपछि वर्षा

Posted on: 06 Jan, 2021

पुस २२, डोटी | मङ्गलबारदेखि लगातार परेको वर्षासँगै जिल्लामा चिसो बढेको छ । चिसोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । यहाँका एक सरकारी तथा दुई निजी अस्पतालमा चिसोका कारण रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेको बताइएको छ । 

चिसोका बिरामीमा नाकबाट पातलो सिँगान बग्ने, खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा ललित लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार चिसोका कारण जिल्ला अस्पतालमा २० तथा शैलेश्वरी अस्पतालमा १२ जना बिरामी भर्ना भएका छन् । 

जिल्लासहित यहाँका अन्य स्थानीय तहमा रहेका सरकारी अस्पतालमा समेत चिसोका कारण बिरामीको चाप बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । चिसोका कारण सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित बनेका छन् । वर्षात्का कारण जिल्लाका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, बडीकेदार, बोगटान फुड्सिल, जोरायल, सायल, पूर्वीचौकी गाउँपालिकालगायतका विभिन्न ठाउँमा बिरामीको सङ्ख्या बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!