कोभिड भ्याक्सिनमा भारतले सघाउने

Posted on: 17 Jan, 2021

माघ ४, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा तत्काल आवश्यक पर्ने कोभिड भ्याक्सिनको पूर्तिका लागि भारत तयार रहेको बताएका छन्।

शनिबार नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी भएर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो जानकारी गराएका हुन्। ‘यसबारे भारतसँग महत्वपूर्ण छलफल भएको छ। भ्याक्सिन सहयोगका लागि नेपाल प्राथमिकतामा पर्ने भारतले स्पष्ट पारेको छ,’ मन्त्री ज्ञवालीले भने।  

दुई पक्षीय बैठकमा नेपाल–भारतबीच पारवहन सम्झौता पुनरवलोकन शीघ्र सम्पन्न गर्ने र वाणिज्य सन्धिको पुनरवलोकनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको उनले जानकारी गराए।

बैठकमा सीमाविवाद जतिसक्दो छिटो समाधान गर्ने दुवै पक्षले प्रतिबद्धता जनाएको र सीमाविवाद समाधानका लागि बनेको संयन्त्र तथा राजनीतिक तहमा समेत गरी दुवै ढंगले छलफल गर्दै जाने सहमति भएको उनले बताए। 

बैठकमा नेपाली पक्षले १९५० को शान्ति र मैत्री सन्धिको पुनरवलोकन, नेपाल–भारत प्रबुद्ध समूहले पेस गरेको रिपोर्ट र नेपाललाई हवाई प्रवेशद्वार उपलब्ध गराउनेलगायत विषय उठान गरेको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!