नयाँबसपार्कमा ‘क्युआर कोड’ मार्फत बस टिकटको भुक्तानी गर्न सकिने

Posted on: 17 Jan, 2021

माघ ४, काठमाडौँ (रासस) । गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘क्युआर कोर्ड’मार्फत बस टिकटको भुक्तानी गर्न सकिने व्यवस्थाको थालनी गरिएको छ ।  नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी बैंकबीच ‘क्युआर कोडमार्फत भुक्तानी गर्न मिल्ने गरी आज सम्झौता गरिएको हो । सम्झौतापत्रमा प्रालिका अध्यक्ष इन्जिनीयर दीपक कुँवर र बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गर्नुभएको छ । कोड

पछिल्लो समय नेपाल राष्ट्र बैंकले क्युआर कोडमार्फत हुने भुक्तानीलाई अभियानकै रुपमा अगाडि बढाइरहेको बेला नयाँबसपार्कमा पनि सो प्रणालीलाई अगाडि सारिएको हो । अब नयाँबसपार्कबाट बसको टिकट खरीद गर्दा यात्रुले मोबाइल मनी, पर्सबाट क्युआर स्क्यान गरी ‘फोन पे’ नेटवर्कअन्तर्गत भुक्तानी गर्न सक्नेछन् । 

बन्दाबन्दीको समयको सदुपयोग गर्दै विद्युतीय माध्यामको प्रयोगलाई अगाडि बढाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले ‘क्युआर कोडमार्फत यात्रुलाई छिटो छरितोरुपमा भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको हो । प्रालिका अध्यक्ष कुँवरले महामारीको समयमा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्दा सबैलाई सहज हुने भएकाले यस प्रणालीलाई अगाडि सारेको बताउनुभयो । 

काठमाडौँ महानगरपालिकाको २६ वडामा रहेको सो बसपार्कमा हाल दैनिक एक हजारदेखि एक हजार ५०० सार्वजनिक सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कबाट हाल देशभरका ५० भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएको प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले लक्ष्मी बैंकले धेरै रकमको कारोबार हुने अस्पताल, सपिङ मल, इन्टरनेट सेवा प्रदायक संस्थामा सो सेवालाई सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । कोरोना महामारीपछि क्युआर कोडमार्फत हुने भुक्तानीको प्रयोग बढ्दै गएको उहाँको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!