पोखरामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

Posted on: 16 Mar, 2021

चैत ३, कास्की (रासस) । पोखरामा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । पोखरा–सराङकोट सडकखण्डस्थित गुम्बा नजिक सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग१८प ४८१४ नम्बरको मोटरसाइकल दुर्र्घटनामा परी मोटरसाइकल चालक पर्वत कुश्मा नगरपालिका–७ चुवा बस्ने ३२ वर्षीय माधव गिरीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसो करीब १ बजेको समयमा भएको सो दुर्घटनामा मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर खस्दा घाइते हुनुभएका गिरीको सहारा अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने ३२ वर्षीय गोविन्द गिरी घाइते भएकामा फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँको अवस्था मध्यम रहेको बताइन्छ । 

यसैगरी आज बिहान जीप र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलस्थित पोखरा–बागलुङ सडकखण्डमा पर्वतबाट काँडेतर्फ आउँदै गरेको ग१ज ६९५० नम्बरको जीप र विपरीत दिशातर्फ जाँदै गरेको ध२प १११९ नम्बरको मोटरसाइकल बिहान ६ः०० बजेको समयमा एकापसमा ठक्कर खाएको थियो ।

घटनामा मोटरसाइकल चालक जिल्ला तनहुँ घर भई हाल अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल डेरा गरी बस्ने १८ वर्षीय महमद समिन र मोटरसाइकल पछाडि सवार अन्नपूर्ण गाउँपालिका–६ हाइजुङ बस्ने वर्ष १७ वर्षीय विश्व नेपाली घाइते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते दुवैको अवस्था गम्भीर रहेको र हाल मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!