नेपाली कांग्रेसका नेता कोइरालाको निधन

Posted on: 18 Mar, 2021

चैत ५, मोरङ । नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ । उहाँको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिनुभयो ।

कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको राजनीतिक परिवर्तनपछि विराटनगर उपमहानगरपालिकाको प्रमुखमा विजयी हुनुभएको थियो भने संविधानसभाको दोस्रो निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको थियो । 

पचहत्तर वर्षीय कोइरालाका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । उहाँको आजै दिउँसो १ बजे शवयात्रा निकाल्ने कांग्रेसको पार्टी कार्यालय पुगेर एक घण्टा श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यक्रम छ । आजै विराटनगरको हाटखोलास्थित विश्रान्त घाटमा अन्त्येष्टि हुने सचिव रेग्मीले जानकारी दिनुभयो । 

उहाँको अन्त्येष्टिमा कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा डीला सङ्ग्रौला, अमृत अर्याल सहभागी हुने सचिव रेग्मीले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!