उपचार नपाउँदा कष्टकर जीवन बिताउँदै ज्येष्ठ नागरिक द्रौपदी

Posted on: 31 Mar, 2021

चैत १८, कास्की । उमेरले ९१ वर्ष पुगे पनि कास्कीको मादी गाउँपालिका–९ छाप मैदानकी द्रौपदी जमरकट्टेलका जीवनमा कहिल्यै खुशी आएन । चिसो–तातो मिलाएर छोराछोरी, बुहारी तथा नातिनातिनालगायत आफन्तले खाना खुवाउने तथा स्याहारसुसार गर्नुपर्ने अवस्थामा बेसहारा जमरकट्टेलले यतिखेर दर्दनाक जीवन बिताउँदै आउनुभएको छ ।

 पाँच छोरी र एक छोराकी अभिभावक जमरकट्टेल विगत सात वर्षयता श्वासप्रश्वासलगायतका समस्याले ग्रसित भए पनि उपचार नपाउँदा कष्टकर जीवन बिताउन बाध्य हुनुहुन्छ । चैत महिनाको दोस्रो साता मादी–९ गोर्जेमा पर्खालको सहायतामा झुत्रो गुन्द्री बिछ्याएर गुन्द्री नै ओढेको अवस्थामा भेटिनुभएकी जमरकट्टेलले वर्षौँदेखि कष्कटर जीवन बिताउँदै आएको स्थानीयवासीले बताए ।

स्थानीयवासीका अनुसार वर्षौँ पहिले श्रीमान्ले कान्छी लिएर गाउँ छाडेपछि द्रौपदीका दुःखका दिन शुरु भएका हुन् । श्रीमान् अहिले कान्छी श्रीमतीका साथ कास्की जिल्लाको रुपा गाउँपालिका–७ हंसपुरमा बस्नुहुन्छ । पाँचवटी छोरी विवाह भएर आ–आप्mनै घर लागिसकेका छन् भने घरमा भएका छोरा नसा र हाडसम्बन्धी रोगबाट ग्रसित छन् । आफू पनि अशक्त र बुढ्यौलीले छोएर आर्थिक विपन्नताका कारण उपचार गर्न नपाएको उहाँका छोरा नरनाथ जमरकट्टेलले बताउनुभयो ।

बुबाले आफूहरु सानै छँदा कान्छी आमा लिएर हिँडेको बताउँदै उहाँले छ छोराछोरीको पालनपोषणका लागि आमाले विगतमा निकै सङ्घर्ष गर्नुभएको अनुभव सुनाउनुभयो । दिदीबहिनी विवाह भई गइसकेको र आफू शारीरिकरूपमा अशक्त भएका कारण चाहेर पनि आमाको उपचार गर्न नसकेको उहाँले रासससँग दुखेसो गर्नुभयो ।

“पोखराको फिस्टेल अस्पतालमा उपचार गर्न त लगियो, उपचार गर्दा पेटसम्बन्धी समस्या देखियो”, उहाँले भन्नुभयो, “चिकित्सकले पुनः परीक्षणका लागि बोलाए पनि पैसा नहुँदा अस्पताल लैजान सकिएन, सात वर्षयता नजिकको स्वास्थ्यचौकीबाट ग्यास्ट्रिक र दमको औषधि ल्याएर निरन्तर खुवाउने गरेका छौँ ।”

त्यसै बेलादेखि आमाको बोलीसमेत नआउने गरेको र हातको इशाराले बोलाउने गरेको बताउँदै उहाँले पैसा भएमा अस्पताल लगेर राम्रोसँग उपचार गर्ने इच्छा रहेको बताउनुभयो । ‘दिनभरि चौरमा बस्नुहुन्छ’, साँझ परेपछि घरको कोठामा ल्याउने गरेको द्रौपदीको सेवामा लाग्नुभएकी बुहारी सम्झना जमरकट्टेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कोठामा बसिरहँदा दमको रोगले बढी च्याप्ने हुँदा दिनमा बाहिर घाममा राखेर आप्mनोतर्पmबाट सक्दो सेवा गर्दै आएका छौँ । दुई छोरीका अभिभावक उहाँहरुको हिमालय मावि नजिकै रहेको जस्ताले छाएको सानो घरसहित साढे दुई रोपनी जग्गा छ ।

सोही स्थानमा सञ्चालित हिमालय मावि गोर्जे र वडा नं ९ को नवनिर्मित भवनको अनुगमनमा पुग्नुभएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले सरकारले ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरे पनि दूरदराजका ज्येष्ठ नागरिकले उक्त सेवा लिन नसकेको बताउनुभयो ।

“ज्येष्ठ नागरिक द्रौपदी प्रतिनिधि पात्र मात्र हुनुहुन्छ, यस्ता धेरै ज्येष्ठ नागरिक सरकारी उपचारको पहुँचमा अझै पनि पुग्नसकेका छैनन्”, उहाँले भन्नुभयो, “यस्ता अभिभावकको उपचारमा सबै क्षेत्रको साथ र सहयोगको आवश्यक पर्दछ ।”

उहाँले द्रौपदीका छोरा नरनाथलाई आमाको उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल ल्याउन सुझाव दिँदै समस्या परेमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखराबाट लेखनाथ हुँदै कालिका, सौर्य, भगवतीटार, घुम्ले हुँदै लगभग चार घण्टाको अवधिमा पुग्न सकिने सो स्थानसम्म पुग्नका लागि कच्ची मोटरबाटो निर्माण गरिएको छ ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!