गोरखामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

Posted on: 13 Apr, 2021

चैत ३१, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताउनुभयो । घैरुङबाट नाम्जुङतर्फ जाँदै गरेको ग१त ४५८२ नंको ट्र्याक्टरले छेलाङे चोक नजिकै बिहानी कक्षा पढेर घर फर्कँदै गरेका बालक ढकाललाई ठक्कर दिँदा उनको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले जानकारी दिनुभयो । घटनास्थल विद्यालयबाट करिब १०० मिटरको दूरीमा रहेको उहाँको भनाइ छ । 

घटनाको जानकारी पाएलगत्तै बङ्ुकोट प्रहरी चौकीबाट गएको प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!