भोजपुरको सिला–सुत्केरी ढुङ्गा ओझेलमा

Posted on: 09 Aug, 2016

साउन २५, भोजपुर । अनेकौँ इतिहास, किम्वदन्ती र धार्मिक आस्था बोकेको भोजपुर जिल्लाको दक्षीणी खैराङ गाविसमा रहेको सिला–सुत्केरी ढुङ्गा ओझेलमा परेको छ । 

हुन त त्यहाँका स्थानीय बासिन्दाले सिला–सुत्केरी कै नाममा प्राथमिक विद्यालय स्थापना समेत गरिसकेका छन् तर सिला–सुत्केरी ढुङ्गाको जगेर्ना र यसको पर्यटन प्रवद्र्धन र संरक्षणका लागि कुनै पर्खालसम्म नलगाएको अवस्था छ । 

सत्ययुगमा जीवजन्तु, जनावर, ढुङ्गा सबैले बच्चा जन्माउने गरेको र सिला–सुत्केरी ढुङ्गा पनि बच्चा जन्माउँदै गर्दा कलियुगको सुरुवात भएकाले बीचैमा अड्केको भन्ने किम्वदन्ती रहेको छ । 

यस सिला–सुत्केरी ढुङगामा एउटा ठूलो ढुङगाले अर्को फरक प्रकारको सानो ढुङगालाई जन्माउँदै गरेको आकृति देख्न सकिन्छ । 

बटुवाले यात्रा सफलताका साथै कुनै चोटपटक, ठेस नलागोस् भनेर फूल, तितेपाती आदि चढाउने र ढोग्ने गरेको र आफूले चिताएको यात्रा सफल भएको जनमानस अझैसम्म रहिआएको ८१ वर्षीय वृद्ध जमानध्वज राईले बताउनुभयो । ग्रामीण सडक अवधारणासँगै भोजपुर सदरमुकामलगायत धनकुटा, उदयपुर, खोटाङसँग पनि यो ठाउँको बाटोले छोइसकेको छ । 

स्थानीय बजारमा यसबारे पर्यटनसम्बन्धी जानकारी दिन सूचना बोर्ड, होटेल र बाटो आदिको व्यवस्था पनि स्थानीय स्तरबाट पहल हुनुपर्ने आवश्यकता देखिन्छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!