लङ्गाउँमा खानेपानीको चरम अभाव

Posted on: 22 Apr, 2021

वैशाख ९, बागलुङ । स्थानीय सरकार आएपछि खानेपानीको अभाव टर्ला भनेर आशावादी रहेका बागलुङ नरपालिका–६ स्थित लङ्गाउँका बासिन्दाको आशा निराशामा परिणत हुँदै गएको छ । बागलुङ बजार नजिकैको लङ्गाउँका बासिन्दाले विगत १० वर्षदेखि खानेपानीको चरम अभाव खेप्दै आएका छन् । अहिले लङ्गाउँमा एक दिन बिराएर दुई गाग्री पानी मात्रै धारामा आउने गरेको स्थानीयवासीले दुखेसो व्यक्त गरेका छन् । खानेपानीको समस्या भएपछि विसं २०३४ मा बागलुङ–६ धारापानीको मुहानबाट पानी ल्याएर खाँदै आउनुभएका लङ्गाउँवासीलाई पुनः १० वर्षअघिदेखि खानेपानी समस्याले सताउन थालेको छ ।

जनसङ्ख्या वृद्धिदर बढ्दै जानु र धारापानीको मुहान सुक्दै जान थालेपछि विगत १० वर्षदेखि लङ्गाउँमा खानेपानीको हाहाकार हुँदै आएको स्थानीयवासी टेकबहादुर थापाले बताउनुभयो । “हिउँदको चार महिनामा खानेपानीको निकै समस्या छ, दुई दिन बिराएर धारामा दुई गाग्री पानी आउँछ”, थापाले भन्नुभयो, “एकै ठाउँमा बस्ती छ, थोरै खानेपानीले पुग्दैन, सरसफाइ र पशुका लागि लङ्गाउँमुनिको गोजीको धारोबाट बोकेर ल्याउँछौँ, आउन जान आधा घण्टा लाग्छ ।”

बजार नजिकैको घर भएरसमेत हिउँदमा दुर्गममा जस्तो खानेपानी बोक्नुपर्ने समस्या पीडादायी भएको उहाँको गुनासो छ । पटक–पटक एक घर एक धाराको कुरा आए पनि हालसम्म कुनै काम हुन नसकेको स्थानीयवासी याम थापाले जानकारी दिनुभयो । अहिले लङ्गाउँका लागि भनेर भिरलाखुरीमा एक लाख लिटरको खानेपानी ट्याङ्की निर्माण भए पनि काठेखोलाको पानी तानेर ल्याउनुपर्ने नगर खानेपानीको आयोजना अगाडि नबढ्दा समस्या भइरहेको छ ।

खानेपानी समस्या समाधानका लागि बागलुङ नगरखानेपानी र नगरपालिकाको साझेदारीमा काठेखोलाको पानी लिफ्टमार्फत माथि ल्याउने काम भइरहे पनि समयमै नसकिँदा सोही लिफ्टको पानीमाथि लगेर लङ्गाउँ पु¥याउने कार्य अलपत्र पर्दै आएको छ । हिउँदको फागुन, चैत, वैशाख र जेठमा खानेपानीको चरम अभाव हुने गरेको छ । अहिले लङ्गाउँका साुदायिक धारामा रित्ता गाग्री छरपष्ट देख्न पाइन्छ ।

अहिले लङ्गाउँका बासिन्दाले भिरलाखुरीमा बनाइएको ट्याङ्की हेरेर काठेखोलाको पानी कुर्दै बसेका छन् । मुख्य खानेपानी आयोजनाको काम पूरा नहुनु र भिरलाखुरी पम्पमार्फत पु¥याउने खानेपानीको कामको कुनै सुरसार नहुँदा अझै केही वर्ष खानेपानीको अभाव झेल्दै बस्नुपर्नै लङ्गाउँवासीको पीडा छ ।

नगरपालिकाले खानेपानीका लागि अधिकतम प्रयास गरेर तल्लो लङ्गाउँमा खानेपानी पु¥याएको भए पनि उपल्लो लङ्गाउँमा समस्या समाधान केही वर्षमा हुने नगर प्रमुख जनकराज पौडेलले बताउनुभयो । नगर खानेपानीको काम सकिएर काठेखोलाको पानी रातामाटा पुग्नासाथ पुनः एक लाख लिटरको ट्याङ्की निर्माण गरिएको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!