वेटरदेखि होटल मालिकसम्म

Posted on: 23 Apr, 2021

वैशाख १०, चितवन । चौध वर्षको कलिलो उमेरमा रित्तो हात कामको खोजीमा नारायणगढ छिरेको युवाले होटलको मालिक बन्ने सपना सायदै देखेको थिएन । दश वर्ष नारायणागढको एक रेष्टुरेन्टमा काम गर्दै गर्दा उनले रेष्टुरेन्टको मालिक बन्ने सपना देखे र त्यसलाई पछ्याउँदै लगे । रेष्टुरेन्टको मालिक बन्ने सपना पूरा भएपछि उनले अर्काे सपना देखे, त्यो हो होटलको मालिक बन्ने । त्यो सपना पनि अहिले पूरा गरेका छन् ।

ठूलो सपना देखेर त्यसलाई पछ्याउँदै गयो भने पूरा गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ कृष्ण भट्टले । विसं २०३७ मा गोरखाको घ्याम्पेसालमा जन्मिनुभएका भट्ट बाल्यकालमै नवलपरासीको दलदले परिवारसँगै आउनुभयो । अध्ययनकै क्रममा १४ वर्षको उमेरमा मामा सीताराम पन्तले भट्टलाई रोजगारीका लागि नारायणगढको भेटघाट रेष्टुरेन्टमा ल्याउनुभयो । भट्टले त्यहाँ १० वर्ष वेटर काम गर्नुभयो । यस क्रममा साहुलाई रिझाएर रेष्टुरेन्टका सबै काममा उहाँ दक्खल हासिल गर्नुभयो । 

भट्टले भन्नुभयो, “मैले गोविन्द दाइ (भेटघाट रेस्टुरेन्टका सञ्चालक गोविन्द तिवारी) लाई भनेको थिएँ, विवाह गरेपछि आफैँ केही गर्छु ।” रोजगारीकै क्रममा रकम जोगाएर उहाँले कृष्णपुरमा एउटा घडेरी जोडिसक्नुभएको थियो । उद्देश्य थियो– त्यही बेचेर व्यवसाय गर्ने । जे सोच्नुभयो त्यो भएरै छाड्यो । विसं २०६२ चैतको जनआन्दोलनकै क्रममा भेटघाट नजिकै भट्टले ‘जमघट’ रेष्टुरेन्ट शुरु गर्नुभयो । श्रीमान्, श्रीमती र दुई कर्मचारी राखेर रेष्टुरेन्ट शुरु भयो । “कैयौँ रात हामी राम्रोसँग सुतेका छैनौँ”, भट्टले विगतलाई सम्झँदै भन्नुभयो, “मूल्य बढ्दै गरेको घडेरी बेचेर थालिएको व्यापार तलमाथि भए कहाँ जाने भन्ने चिन्ता हामी दुवैलाई थियो । त्यही पनि रात दिनको हाम्रो मेहनत खेर गएन ।” त्यसो त भेटघाटमा रहँदा सेवाग्राहीसँगको सामिप्यताका कारणले कृष्ण खोज्दै आउने सेवाग्राहीका कारण व्यवसाय सफल भएको उहाँ बताउनुभयो ।

सेवाग्राही भेट्नासाथ सत्कारसँगै खिस्स हाँसेर सेवा दिने उहाँको स्वाभावका कारण एक पटक आएका सेवाग्राही फेरि आउने हुँदा उहाँलाई कहिल्यै पछाडि धकेलिन परेन । त्यसको सफलतासँगै उहाँले भरतपुरको बसपार्क चोकमा अर्काे शाखा खोल्नुभयो । विसं २०७२ चैत ३ गते शाखा भरतपुरमा खुल्यो । एक कठ्ठा तीन धुर जग्गा आफैँले किनेर शुरु गरेको व्यवसायले निरन्तर सफलता प्राप्त ग¥यो ।  यसै क्रममा जोडिएको १६ धुर जग्गा थपेर उहाँले २० वटा कोठासहितको होटल शुरु गर्नुभएको छ । होटलमा ८० जना क्षमताको सभाकक्षसँगै रेष्टुरेन्ट पनि छ । साठ्ठी जनासम्मलाई बसाइको सुविधा दिन सकिने होटलमा वातानुकूलित कोठाहरु छन् । 

आधुनिक र अधिकतम सुविधा दिने गरी आफूले होटल शुरु गरेको उहाँ बताउनुहुन्छ । कमाएको रकम थपेर बैंकको सहायताले रु नौ करोड लागतमा होटल खोलेको भट्टको भनाइ छ । चालिस वर्षको उमेरमा दुईवटा रेष्टुरेन्ट र एउटा होटलको मालिक बन्नुभएका भट्टका व्यवसायमा अहिले २२ जनाले रोजगारी पाएका छन् । भट्टका दुई रेष्टुरेन्ट र होटलमा गरी दैनिक ३०० भन्दा बढीले सेवा पाउने गरेका छन् । भट्ट भन्नुहुन्छ, “जे काम गरे पनि निरन्तर मेहनत ग¥यो भने सफलता हात पर्छ ।” 

आफ्नो कडा परिश्रमकै कारण सफल भएको उहाँको भनाइ छ । यतिले मात्रै भट्टलाई चित्त बुझेको छैन । अरु शहरमा पनि जमघटको शाखा विस्तार गर्ने उहाँको योजना छ । देशभरबाट चितवन हुँदै आवतजावत गर्ने धेरैको रोजाइको खाजा ‘तास’ परिकार उहाँको रेष्टुरेन्टको मुख्य विशेषता हो । यसले मात्रै भट्टलाई चित्त बुझेन । अहिले उहाँले बिहानको खाजादेखि खाना हुँदै रातको आरामदायी बसाइसम्मका लागि सेवा दिँदै आउनुभएको छ । 

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतम भट्ट देशकै नमूना व्यवसायी भएको बताउनुहुन्छ । काम सिकेपछि आफैँ उद्यमी बन्नुपर्छ भन्ने उदाहरण भट्टले प्रस्तुत गरेको उहाँको भनाइ छ । गौतमले भन्नुभयो, “युवावस्थामा कुनै पनि ठाउँमा काम सिकेपछि त्यसलाई उद्यममा परिणत गर्नु सफलता हो ।” यसको सिको सबै युवाले गर्नुपर्ने उहाँ बताउनुहुन्छ । 

नेपालमा रोजगारी पाइँदैन भन्दै दिनहुँ विदेश पलायन हुने युवाहरुका लागि भट्ट उदाहरण बन्नुभएको छ । सानो कामबाट शुरु गर्दै सफल व्यवसायी बन्ने विदेश जानु पर्दैन भन्ने शिक्षा उहाँको जीवनबाट पाउन सकिन्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!